काठमाडौं, साउन २० । बाँके प्रहरीले साउन महिनाको पहिलो १५ दिनमै १ किलोभन्दा बढी ब्राउन सुगर बरामद गर्दै लागुऔषध कारोबारविरुद्धको अभियानलाई तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन ३ देखि १८ गतेसम्म सञ्चालन गरिएको विभिन्न कारबाहीमा एक हजार ११ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको हो। यस अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका विभिन्न व्यक्ति पक्राउ परेका छन्।
साउन १८ गते नेपालगञ्ज–४ बसपार्कबाट पक्राउ परेका सुशील भण्डारीको बयानका आधारमा प्रहरीले नेपालगञ्ज–१० निवासी अरुणकुमार जयसवाललाई पक्राउ गरी उनको घरबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेको थियो। प्रहरीले उनीहरूको साथबाट पाँच लाख दुई हजारभन्दा बढी नेपाली तथा भारतीय मुद्रा समेत बरामद गरेको जनाएको छ।
यसअघि साउन १६ गते नेपालगञ्ज–११ बाट एक दम्पती, साउन ६ गते दुई महिला र साउन ३ गते दाङका दुई युवालाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रयोगकर्ताबाट डिलरसम्म पुगेर लागुऔषध कारोबारको सञ्जाल तोड्ने रणनीति अपनाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीले पक्राउ परेका प्रयोगकर्ता र कारोबारीको बयानका आधारमा मुख्य डिलरसम्म पुगेर कारबाही भइरहेको बताउनुभयो।
प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारमा युवा, व्यवसायी, डान्सबार सञ्चालक तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू समेत जोडिएको पाइएको छ। यसले समाजमा लागुऔषधको समस्या गम्भीर बन्दै गएको संकेत गर्ने भन्दै प्रहरीले अभिभावक, समुदाय र सम्बन्धित निकायलाई सचेत हुन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्