जनता टाइम्स

२० श्रावण २०८३, बुधबार ०७:५७

जनकपुरमा पोखरीको डिल अतिक्रमण गरेर निर्माण गरिएका घरटहरामा डोजर चल्ने


काठमाडौं,  साउन  २०। जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गतका सात वटा पोखरी र तिनका डिल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरामा आगामी सातादेखि डोजर चलाइने भएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो। तोकिएको समयभित्र अतिक्रमण हटाउन सम्बन्धित पक्षले चासो नदेखाएपछि डोजरमार्फत संरचना हटाउने तयारी गरिएको हो।

यसअघि सुनसरी घटनापछि उत्पन्न परिस्थितिका कारण अतिक्रमण हटाउने अभियान स्थगित गरिएको भए पनि अब पुनः कार्यान्वयन गरिने समितिले जनाएको छ।

विशहरा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरीका डिल क्षेत्रमा बनेका ४२ वटा कच्ची र पक्की घरटहरा हटाइने तयारी छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी जग्गा संरक्षणका लागि ११ सदस्यीय टोली गठन गरेको छ। टोलीमा गुठी संस्थान, जिल्ला प्रशासन, नापी, भूमि प्रशासन कार्यालय, जनकपुर उपमहानगरपालिका लगायतका निकायका प्रतिनिधि सहभागी छन्।

गुठी संस्थानका अनुसार बृहत्तर जनकपुर क्षेत्रमा रहेका ४९ वटा पोखरीमध्ये हालसम्म १३ वटाको नापजाँच सम्पन्न भइसकेको छ। पहिलो चरणमा सात वटा पोखरीको डिलमा रहेका अतिक्रमित संरचना हटाइने जनाइएको छ।

डोजर चलाउने तयारीसँगै गुठी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीमा त्रास फैलिएको छ। केहीले वैकल्पिक व्यवस्थाबिनै हटाइने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।