दाङ, साउन २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतन्त्र, सुशासन, राष्ट्रिय हित तथा आर्थिक व्यवस्थापनका विभिन्न क्षेत्रमा असफल बन्दै गएको बताउनुभएको छ।
प्रेस चौतारी नेपाल दाङद्वारा बुधबार तुलसीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पछिल्लो निर्वाचनमा लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलप्रति नागरिकको आकर्षण घट्नुको कारण ती दलविरुद्ध फैलाइएको भ्रम, घृणा र वितृष्णा रहेको बताउनुभयो। “गएको चुनावमा लोकतन्त्रका लागि लामो समय लडेका राजनीतिक दलप्रति नागरिकको आकर्षण घट्यो, त्यसको कारण ती दलप्रति फैलाइएको भ्रम, घृणा र वितृष्णा हो,” पोखरेलले भन्नुभयो।
सुशासनको नारा दिएर सत्तामा पुगेका नयाँ राजनीतिक शक्तिहरू व्यवहारमा सुशासन कायम गर्न असफल भएको उहाँको भनाइ छ । “नयाँ भनिएकाहरूले सुशासनको मुद्दा धेरै उठाए तर उनीहरू सुशासनको मामिलामा कति कमजोर रहेछन् भन्ने अहिले देखिएको छ, उनीहरूको सम्पत्ति अस्वाभाविक देखिएको छ, सम्पत्तिका रूपमा सुनको सञ्चय अधिक भएको देखिएको छ, सबैभन्दा बढी सुन अहिलेका प्रधानमन्त्रीको देखिएको छ, यसले उहाँको सोच, नियत र चरित्र प्रष्ट पार्छ,” उहाँले बताउनुभयो।
उहाँले ठुलो मात्रामा सुन सञ्चय गर्ने व्यक्तिले उत्पादनशील र उद्यमशील क्षेत्रमा लगानी नगर्ने दाबी गर्नुभयो । “दुई सय तोलाको हाराहारीमा सुन राख्ने व्यक्तिको राजनीतिक चिन्तन सही छ भन्न सकिँदैन,” पोखरेलले भन्नुभयो।
महासचिव पोखरेलले अध्यादेशमार्फत विगतका कानुन खारेज गरेर गरिएको नियुक्तिले राज्यका संरचनाहरूमा अराजकता सिर्जना गरेको बताउनुभयो । “हिजो कार्यकर्ता नियुक्ति गरेको आरोप लगाइन्थ्यो। हामी स्वतन्त्र मान्छे नियुक्ति गर्छौँ भन्दै अध्यादेशमार्फत नियुक्ति गरियो, तर ती सबै रास्वपाका कार्यकर्ता भएको पुष्टि भयो, यसले संरचनात्मक अराजकता सिर्जना गरेको छ,” उहाँले भन्नुभयो।
“भदौ २३ र २४ को घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर सबैभन्दा बढी लाग्ने अहिलेका प्रधानमन्त्री र गृहमन्त्री हुन्, अब सुनसरी घटनासँग जोडिएर प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिन्छन् कि लिँदैनन्, उनीहरू मुद्दा खेप्न वा हिरासतमा बस्न तयार छन् कि छैनन् ? सुरक्षाकर्मीलाई दोष थोपरेर उहाँहरू निस्कन मिल्ने कि नमिल्ने ? “
भूमिहीन, ट्रेड युनियन तथा विद्यार्थी संगठनमाथि भएको हस्तक्षेप लोकतन्त्रमाथिको प्रहार भएको उहाँको भनाइ थियो। “भूमिहीन, ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रहार गरिएको छ, यसले लोकतन्त्रमाथि पनि प्रहार गरेको छ। त्यस अर्थमा यो सरकार लोकतन्त्रको विरुद्धमा छ भन्ने पुष्टि हुन्छ,” उहाँले बताउनुभयो।
महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीका कारण मुलुकको राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्तासमेत संकटमा परेको दाबी गर्नुभयो। “प्रधानमन्त्री संसद्को रोष्ट्रममा उभिएर नेपालले भारतको सीमा मिचेको छ भन्नुहुन्छ, दुई देशबिचको सीमा विवादमा तेस्रो पक्षको सहभागिताको कुरा गर्नुहुन्छ, प्रधानमन्त्री बालेन्द्र साहका कारण नेपालको सीमा विवाद थप बल्झिएको छ, राष्ट्रहितप्रति प्रधानमन्त्रीले आवश्यक संवेदनशीलता देखाउनुभएको छैन,” उहाँले आरोप लगाउनुभयो।
उहाँले सरकार गठनपछि मूल्यवृद्धि, मलखादको अभाव र खाना पकाउने ग्यासको अभाव बढेको उल्लेख गर्दै सरकार असफलताको दिशामा अघि बढिरहेको बताउनुभयो। “नयाँ सरकार आएपछि मूल्यवृद्धि भएको छ, मलखादको अभाव विगतभन्दा बढी भएको किसानहरूको गुनासो छ, खाना पकाउने ग्यासको अभाव छ, यी सबै कुराले सरकार असफलताको दिशामा अघि बढेको देखाउँछन्,” उहाँले भन्नुभयो।
विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।”विद्युतको खपत बढाउनुपर्ने बेला सरकारले त्यसलाई घटाउने नीति ल्याएको छ, सरकार उल्टो बाटो हिँडिरहेको छ,” उहाँले बताउनुभयो।

सरकारले पूर्वाग्रह र प्रतिशोधको राजनीति गरिरहेको बताउँदै उहाँले प्रतिपक्षी नेताहरूलाई पक्राउ गरे पनि प्रमाण जुटाउन नसकेको दाबी गर्नुभयो। सुनसरी घटनाको सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीबारे प्रश्न उठाउनुभयो। “भदौ २३ र २४ को घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर सबैभन्दा बढी लाग्ने अहिलेका प्रधानमन्त्री र गृहमन्त्री हुन्, अब सुनसरी घटनासँग जोडिएर प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिन्छन् कि लिँदैनन्, उनीहरू मुद्दा खेप्न वा हिरासतमा बस्न तयार छन् कि छैनन् ? सुरक्षाकर्मीलाई दोष थोपरेर उहाँहरू निस्कन मिल्ने कि नमिल्ने ? ” उहाँले प्रश्न गर्नुभयो।
उहाँले प्रधानमन्त्री र गृहमन्त्रीले या त सार्वजनिक रूपमा माफी माग्नुपर्ने, अन्यथा राजीनामा दिएर कानुनी प्रक्रियाको सामना गर्नुपर्ने धारणा राख्नुभयो ।”या त प्रधानमन्त्री र गृहमन्त्रीले ‘हामीलाई जानकारी भएन’ भनेर माफी माग्नुपर्छ, होइन भने राजीनामा दिएर मुद्दा खेप्न तयार हुनुपर्छ, राजनीतिमा दोहोरो मापदण्ड हुँदैन,” उहाँले भन्नुभयो।
देश र लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक सक्तीहरूबिच एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले पुराना राजनीतिक दलहरूले आत्म समीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। “यतिबेला देश र लोकतन्त्र बचाउन लोकतान्त्रिक शक्तिहरू एकजुट हुन आवश्यक छ, पुराना राजनीतिक दलहरूले आफूलाई सुधारेर अघि बढ्नुपर्छ, यो कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ, हामी सुध्रिएर अघि बढ्छौँ,” महासचिव पोखरेलले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्