जनता टाइम्स

२० श्रावण २०८३, बुधबार १०:३५

दाङका विभिन्न सामुदायिक वन भित्र लुकाइ राखेकाे ५५ नाल भरुवा बन्दुक बरामद 


दाङ, साउन २० । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो।

खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

बरामद गरिएका सबै भरुवा बन्दुकका नाल बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।