काठमाडौं, साउन २० । नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गरी नेकपा लगायतका दलसँग नयाँ सत्ता समीकरण बनेसँगै वाग्मती प्रदेशको राजनीतिक समीकरण तीव्र रूपमा बदलिएको छ। नयाँ सहमतिअनुसार कोशी, वाग्मती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा एमालेले गर्ने समझदारी बनेपछि अब वाग्मती प्रदेशको भावी मुख्यमन्त्री को बन्ने भन्ने प्रश्न राजनीतिक वृत्तको केन्द्रमा पुगेको छ।
कोशी र लुम्बिनी प्रदेशमा हाल एमालेकै नेतृत्वमा सरकार रहे पनि वाग्मती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि अल्पमतमा परिसकेको छ। यद्यपि एमालेले अहिलेसम्म औपचारिक रूपमा मुख्यमन्त्रीको दाबी प्रस्तुत नगरेकाले वर्तमान सरकारले नै कामकाज गरिरहेको छ। लुम्बिनीमा सरकारको नेतृत्वको विषय टुङ्गी सकेको छ भने काेशीमा एमालेका हालकै मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने की मुख्यमन्त्री परिवर्तन गर्ने भन्ने छलफल चलिरहेको छ ।
वाग्मती प्रदेश सभामा पनि एमालेको नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। पार्टीका २५ प्रदेशसभा सदस्यमध्ये १९ जनाले पूर्व स्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता तथा मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै हस्ताक्षर गरेको स्रोतको दाबी छ। संसदीय दलका वर्तमान नेता जगन्नाथ थपलियाको सट्टा थापालाई नेतृत्व दिनुपर्ने पक्षमा सांसदहरूको स्पष्ट झुकाव देखिएको दाबी गरिएको छ।
स्रोतका अनुसार एमाले र नेकपाको मात्र मतले सरकार गठनका लागि आवश्यक सङ्ख्या नपुग्ने भएकाले अन्य दलसँग पनि सहज समन्वय गर्न सक्ने, संवादशील र कार्यसम्पादनमा अब्बल नेतृत्व आवश्यक रहेको निष्कर्षमा पार्टीभित्र बहस भइरहेको छ। यही कारणले पनि थापाको नाम बलियो रूपमा अगाडि आएको बताइन्छ।
समन्वयकारी नेतृत्व र कार्यसम्पादनले बनायो बलियो दाबेदार
एमालेभित्र किरण थापा मगरलाई मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रूपमा हेरिनुको प्रमुख कारण उहाँको समन्वयकारी नेतृत्व शैली र कार्यसम्पादन रहेको अब्बलपन भएको स्रोतहरूको दाबी छ। प्रदेश सरकारमा स्वास्थ्य मन्त्री रहँदा मन्त्रालय, कर्मचारी संयन्त्र, स्थानीय तह तथा सरोकारवालाबिच प्रभावकारी समन्वय कायम गर्दै निर्णय कार्यान्वयनमा परिणाममुखी शैली अपनाएकाले उहाँले पार्टीभित्र छुट्टै पहिचान बनाएको उल्लेख गरिएको छ।
स्रोतका अनुसार मन्त्रीका रूपमा उहाँले फाइल थन्क्याउनेभन्दा निर्णय कार्यान्वयनलाई प्राथमिकता दिनुभएको थियो। स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको विस्तार, विपन्न नागरिकका लागि उपचार सहायता, जिल्ला अस्पतालको सेवा विस्तार, स्वास्थ्य पूर्वाधार सुदृढीकरण तथा नयाँ कार्यक्रम कार्यान्वयनमा देखिएको सक्रियताका कारण उहाँलाई कार्यसम्पादनमा अब्बल नेताका रूपमा हेरिएको दाबी गरिएको छ।
एमालेभित्रका नेताहरूको बुझाइमा अहिले वाग्मती प्रदेशमा सरकार सञ्चालनका लागि पार्टीभित्र मात्र होइन, सत्ता साझेदार दलसँग पनि सहज संवाद गर्न सक्ने, विवाद व्यवस्थापन गर्न सक्ने र सबै पक्षलाई साथमा लिएर अघि बढ्न सक्ने नेतृत्व आवश्यक छ। यही कारण किरण थापा मगरलाई समन्वयकारी, सबैलाई मिलाएर लैजान सक्ने र परिणाम दिने नेताका रूपमा सांसदहरूको उल्लेखनीय समर्थन प्राप्त भएको दाबी स्रोतहरूले गरेका छन्।
यही पृष्ठभूमिका कारण संसदीय दलभित्र ठुलो सङ्ख्यामा सांसदहरूले उहाँको पक्षमा समर्थन जनाउँदै हस्ताक्षर गरेको दाबी गरिएको छ। स्रोतका अनुसार पार्टीभित्र उहाँलाई “कार्यसम्पादनमा एक नम्बर” र “सरकार सञ्चालन गर्न सक्षम नेतृत्व” का रूपमा हेरिने गरेको छ।
सामाजिक सेवाबाट सुरु भएको सार्वजनिक जीवन
किरण थापा मगरको सार्वजनिक जीवन राजनीतिकभन्दा धेरै पहिले सामाजिक अभियानबाट सुरु भएको हाे । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा सामाजिक, धार्मिक, शैक्षिक तथा मानवीय क्षेत्रमा लामो समय सक्रिय रहँदै उहाँले स्थानीय समुदायमा विश्वासिलो नेतृत्वको छवि निर्माण गर्नुभएको छ ।
उहाँले डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दा धार्मिक पर्यटन प्रवर्द्धन, मन्दिर संरक्षण तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसकै परिणाम अहिले डाेलेश्वर दर्शनको लागि हजारौँ स्वदेश तथा विदेशका दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटीसँग दुई दशकभन्दा लामो सम्बन्ध, रक्तदान, विपद् व्यवस्थापन, राहत वितरण तथा स्वास्थ्य सचेतनाका कार्यक्रममा सक्रिय सहभागिताले उहाँलाई सामाजिक अभियन्ताका रूपमा स्थापित गरेको छ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका बेला किरण थापाको सक्रिय भूमिका उल्लेखनीय रहेको थियो ।
भूकम्पपछि राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्रिय रहनुका साथै कोरोना महामारीका बेला निःशुल्क पीसीआर परीक्षण, अक्सिजन व्यवस्थापन, स्वास्थ्य सामग्री वितरण, सङ्क्रमितको उद्धार, अस्पतालसम्म पुर्याउने व्यवस्था तथा विदेशबाट फर्किएकाहरूका लागि होल्डिङ सेन्टर सञ्चालनमा समेत उहाँको भूमिका उल्लेख्य रहेको थियो ।
व्यवसाय र समाजसेवालाई सँगसँगै
राजनीतिमा आउनुअघि व्यवसायमार्फत सयौँ युवालाई रोजगारी दिएको तथा वडा अध्यक्ष हुँदा सरकारी पारिश्रमिकबाट ‘जगतबहादुर स्मृति अक्षय कोष’ स्थापना गरी आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाउनु भएको थापाको योगदान अहिले पनि सामाजिक क्षेत्रमा त्यतिकै छ ।
मन्त्री हुँदा पाएको कतिपय पारिश्रमिक समेत उहाँले सोही कोषमा जम्मा गरेर विपन्न विद्यार्थीको पठाइमा खर्च गर्दै आउनु भएको छ ।
स्थानीय नेतृत्वदेखि प्रदेश सरकारसम्म
थापा एकै पटक मुख्यमन्त्री बन्न लाग्नु भएको होइन । उहाँ भुईँबाट उठेर अहिलेको अवस्थामा आइपुग्नु भएको हाे ।
सामाजिक कामबाट राजनीतिमा आउनु भएका उहाँले तल बसेर काम गर्दा भुईँ मान्छेहरूको समस्या बुझ्नु भएको छ र सो समस्या समाधानको प्रयास गर्नु भएको छ । थापा भुईँ मान्छेको समस्या बुझ्ने र त्यसको समाधानको लागि लाग्ने नेताको रूपमा परिचित हुनुहुन्छ ।
एमालेभित्र किरण थापा मगरलाई मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रूपमा हेरिनुको प्रमुख कारण उहाँको समन्वयकारी नेतृत्व शैली र कार्यसम्पादनमा रहेको अब्बलपन भएको स्रोतहरूको दाबी छ। प्रदेश सरकारमा स्वास्थ्य मन्त्री रहँदा मन्त्रालय, कर्मचारी संयन्त्र, स्थानीय तह तथा सरोकारवालाबिच प्रभावकारी समन्वय कायम गर्दै निर्णय कार्यान्वयनमा परिणाममुखी शैली अपनाएकाले उहाँले पार्टीभित्र छुट्टै पहिचान बनाएको उल्लेख गरिएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को वडा अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापा २०७९ सालको प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित हुनुभयो। त्यसपछि वाग्मती प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
टेबलका बसेर समस्या बुझिँदैन भन्ने मान्यता राख्ने थापा गाउँ गाउँमा पुग्नुभयो, समस्या बुझ्नु भयो र समाधानको उपाय खोज्नु भयो । वाग्मती प्रदेशका मन्त्रीहरू मध्ये धेरै र दुर्गमका भूगोलमा पुग्ने मन्त्री सायद थापा नै हुनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयमा सुधारका प्रयास
उहाँले स्वास्थ्य मन्त्री बने लगत्तै विपन्न क्यान्सर बिरामीलाई एक लाख रुपैयाँसम्म आर्थिक सहायता दिने निर्णय गर्नुभएको थियो। त्यसपछि स्वास्थ्य सेवा ऐन संशोधन, स्वास्थ्य संस्था दर्ता तथा नवीकरणलाई डिजिटल प्रणाली (HRRS) मार्फत सञ्चालन, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान, ‘एक जिल्ला–एक स्वस्थ सहर’ अवधारणा तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनजस्ता कार्यक्रम अघि बढाउनु भयो ।
भक्तपुर अस्पतालमा सिटी स्क्यान, एमआरआई सेवा विस्तारको तयारी, विभिन्न जिल्ला अस्पतालमा सेवा विस्तार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी सुधार तथा एमबीबीएस अध्ययन सुरु गराउनुभयो । प्रदेशका सबै जिल्लमा रहेको प्रादेशिक अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सुधारका लागि महत्त्वपूर्ण काम गर्नुभयो । आधारभूत अस्पताल तथा स्थानीय सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा उपकरण तथा सेवा सुधारकाे लागि उहाँको कार्यकालमा महत्त्वपूर्ण काम भए ।
किन उहाँकै पक्षमा बहुमत ?
पार्टीभित्रका सांसदहरूको बुझाइमा किरण थापा मगर समन्वयकारी, कार्यसम्पादनमा प्रभावकारी तथा अन्य दलसँग संवाद गर्न सक्ने नेताका रूपमा स्थापित भएकाले उहाँलाई मुख्यमन्त्री बनाउन दबाब बढेको छ । यही कारणले संसदीय दलभित्र ठुलो सङ्ख्यामा सांसदहरूले उहाँको पक्षमा हस्ताक्षर गरेको स्रोतको भनाइ छ।
अब अन्तिम निर्णय भने एमालेको शीर्ष नेतृत्वले गर्नेछ। नेतृत्वले प्रदेशसभा सदस्यहरूको भावना सम्बोधन गर्दै थापालाई संसदीय दलको नेता बनाउने निर्णय गर्छ वा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिन्छ भन्ने विषयले वाग्मती प्रदेशको आगामी सरकारको नेतृत्व टुङ्गो लगाउनेछ। नेतृत्वले हस्तक्षेप नगरी संसदीय दलको नेता चयन मतदानमार्फत गरेर निर्णय गर्न छाडिदियो भने पनि किरण थापा मगर मुख्यमन्त्री बन्ने निश्चित छ। यद्यपि यसबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन। केही दिनमा नै यो विषय टुङ्गोमा पुग्ने छ र वाग्मती प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ ।














प्रतिक्रिया दिनुहोस्