जनता टाइम्स

२० श्रावण २०८३, बुधबार १४:४७

प्रदेश सरकारबारे राप्रपाको नीति : पार्टी हितअनुसार निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई


काठमाडौं, साउन २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागिताका विषयमा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर मात्र निर्णय गर्ने नीति लिएको छ। मंगलबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले प्रदेश सरकारको सत्ता समीकरणको चलखेलमा राप्रपा सहभागी नहुने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश सरकारमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएमा त्यसबारे उपयुक्त समयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ। “प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ,” प्रवक्ता श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार राप्रपाको धारणा अहिले पनि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाले नै प्रदेश सरकार सञ्चालन गरून् भन्ने रहेको छ।

बैठकले प्रदेश सरकारका सम्बन्धमा आवश्यक निर्देशन उपयुक्त समयमा पार्टी केन्द्रबाट जारी गरिने निर्णय पनि गरेको छ। साथै, पार्टीको स्पष्ट निर्देशनबिना कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल तथा प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।