काठमाडौं, २० साउन । भदौ पहिलो साता काठमाडौंमा आयोजना हुने तय भएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपाल सरकारको आग्रहपछि रद्द गरिएको छ।
सम्मेलनका स्थानीय आयोजकमध्ये एक तथा काठमाडौं विश्वविद्यालयअन्तर्गत हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास)का निर्देशक डा. सागरराज शर्माले सरकारको आग्रहपछि सम्मेलन स्थगित गरिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सरकारले कार्यक्रम नगर्न अनुरोध गरेपछि आयोजकले सम्मेलन रद्द गर्ने निर्णय गरेका हुन्।
भदौ ७ देखि १३ गतेसम्म सञ्चालन हुने तय भएको सम्मेलनमा ३९ देशका करिब ७२० प्रतिनिधिको सहभागिता रहने कार्यक्रम थियो। सम्मेलन काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुने तय भएको थियो।
स्रोतका अनुसार सम्मेलनप्रति चीनले चासो देखाएपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भेट गरी सम्मेलनबारे जानकारी लिनुभएको थियो। विशेषगरी दलाई लामाका प्रतिनिधिहरू नेपाल आउन सक्ने तथा तिब्बती मामिलासम्बन्धी विषयमा छलफल हुन सक्ने सम्भावनाप्रति चिनियाँ पक्षले चासो व्यक्त गरेको बताइएको छ।
चीनको चासो बढेपछि निर्वासित तिब्बती सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले पनि आफ्नो प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको जनाइएको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सम्मेलन स्थगित गर्ने निर्णयले नेपालका दुवै छिमेकी मुलुकसँगको कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्न सहयोग पुगेको छ।
सन् १९७७ मा स्विट्जरल्यान्डबाट सुरु भएको आईएटीएस सम्मेलन बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अष्ट्रिया, नेदरल्यान्ड्स, क्यानडा, मङ्गोलिया, फ्रान्स र चेक गणतन्त्रलगायत विभिन्न देशमा आयोजना भइसकेको छ। नेपालमा भने यो सम्मेलन पहिलो पटक आयोजना हुने तय भएको थियो।














प्रतिक्रिया दिनुहोस्