जनता टाइम्स

२० श्रावण २०८३, बुधबार २२:१३

सङ्कटको बेला नेतृत्वको संरक्षण गर्नु सबैको दायित्व, अहिले एमालेमा केपी ओलीको विकल्प छैन : माधव ढुंगेल 


रामेछाप, साउन २० । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुंगेलले वर्तमान परिस्थितिमा पार्टी नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताको साझा दायित्व भएको बताउनुभएको छ।

नेकपा एमाले रामेछापको सचिवालय बैठकलाई बुधबार मन्थलीमा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बाह्य आक्रमण भइरहेकोले पार्टी नेतृत्वको पक्षमा एकताबद्ध हुन आग्रह गर्नुभयो। ढुंगेलले भन्नुभयो, “यतिबेला अध्यक्ष केपी शर्मा ओलीमाथि बाह्य आक्रमण भइरहेको छ, यस्तो अवस्थामा उहाँको नेतृत्वको संरक्षण गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ताको साझा दायित्व हो।”

उहाँले अध्यक्ष ओलीलाई अपमानजनक ढङ्गले बिदाइ गरेर पार्टी अघि बढ्न नसक्ने धारणा पनि व्यक्त गर्नुभयो। “केपी ओलीलाई अपमानजनक तरिकाले बिदाइ गरेर पार्टी चल्दैन, उहाँ समृद्ध नेपालको परिकल्पनाकार, राष्ट्रियताको संरक्षणकर्ता तथा चुच्चे नक्सा जारी गर्ने नेता हुनुहुन्छ, उहाँलाई हटाएर हामी जनतामाझ कुन एजेन्डा लिएर जाने ?” भन्दै उहाँले प्रश्न गर्नुभयो।

ढुंगेलले भ्रमको पछि लागेर भावनात्मक निर्णय गर्न नहुने उल्लेख गर्दै पार्टीलाई सही दिशामा अघि बढाउन इतिहास बोकेका नेताहरूको सम्मान आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “गलत बाटो समातेर सही ठाउँमा पुग्न सकिँदैन, कसैले फैलाएको भ्रमको पछि लागेर भावनामा बग्नु हुँदैन, इतिहास भएका नेताहरूलाई पाखा लगाएर वा अपमान गरेर पार्टीलाई सही ठाउँमा पुर्‍याउन सकिँदैन।”

उहाँले सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे मात्र पार्टी सही दिशामा अघि बढ्ने बताउँदै सामाजिक सञ्जालमा आउने सबै विषयवस्तुलाई सत्य मानेर पछि नलाग्न पनि आग्रह गर्नुभयो।

यसैबीच, नेकपा एमाले रामेछापले मन्थलीमा निर्माण सम्पन्न भएको पार्टीको नयाँ भवन आगामी शुक्रबार उद्घाटन गर्ने भएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठका अनुसार बिहान ११ बजे पार्टीका महासचिव शंकर पोखरेलले भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।