काठमाडौं, साउन २१ । केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरोले व्यापक क्षति पुर्याउँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार देशभरका धेरै सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
पूर्ण रूपमा अवरुद्ध भएका सडकमा चितवनको इच्छाकामना गाउँपालिका–५ मा पहिरो खसेपछि पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा अरनिको राजमार्ग, ललितपुरको पाण्डुर र मकवानपुरको ठिंगन खण्डमा कान्ति लोकपथ, इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग तथा पूर्वी रुकुमको भुमे गाउँपालिकामा मध्यपहाडी लोकमार्ग रहेका छन्।
त्यस्तै, बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा कालीगण्डकी कोरिडोर पनि पहिरो र बाढीका कारण बन्द भएको छ। कर्णाली प्रदेशका भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म–गमगढी सडक (मुगु) र जुम्लाको नाग्म सडक खण्डमा समेत यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
संभावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डस्थित बी.पी. राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
यता, काठमाडौंको सितापाइला–धार्के सडकअन्तर्गत नागार्जुन–८ स्थित ठुलो खोलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ। मनाङको चामे–बेँसिशहर, मुस्ताङको बेनी–जोमसोम तथा भोजपुरको बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गका केही खण्डमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
यसैबीच, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। दोलखामा वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक सूचना प्रणालीमार्फत सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्