काठमाडौं, साउन २१ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो।
नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेको थियो। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र नेपाल सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।
सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ। श्रेणीविहीन कर्मचारी (हल्कारा, हुलाकी र कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकामा ग्रेड थपिएपछि उक्त रकम कायम भएको हो।
सरकारले नयाँ तलबमानसँगै कर्मचारीहरूका लागि मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरेको छ। अर्थ मन्त्रालयका अनुसार एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम भएको तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।
सामुदायिक विद्यालयका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीको तलब पनि वृद्धि गरिएको छ। नयाँ व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले अवकाशप्राप्त कर्मचारी अर्थात् पेन्सनधारीहरूको पेन्सन रकममा पनि १० प्रतिशत वृद्धि गरेको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान र पेन्सन वृद्धि २०८३ साउन १ गतेदेखि लागू भइसकेको छ। मन्त्रालयले सबै सरकारी निकायलाई नयाँ तलबमानअनुसार नै तलब तथा सुविधा भुक्तानी गर्न निर्देशन दिइसकेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्