जनकपुरधाम, साउन ३१ । यातायात व्यवस्था कार्यालय जनकपुर, धनुषामा सर्भर समस्याका कारण नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नवीकरण सेवा करिब एक महिनादेखि अवरुद्ध भएको छ।
मधेस प्रदेश सरकार मातहत रहेको उक्त कार्यालयका अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालित केन्द्रीय सर्भरमा देखिएको प्राविधिक समस्याका कारण असार २९ गतेदेखि नयाँ लाइसेन्स वितरण तथा नवीकरण प्रक्रिया रोकिएको हो।
कार्यालयले सर्भर समस्या समाधान नहुँदासम्म नयाँ लाइसेन्ससम्बन्धी सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ। हाल कार्यालयले सवारी कर सङ्कलनलगायत सीमित सेवा मात्र प्रदान गरिरहेको छ।
यातायात व्यवस्था विभागमा प्रदेशका यातायात कार्यालयसँग आवश्यक समन्वय गर्ने संयन्त्रको अभावका कारण समस्या लामो समयसम्म समाधान हुन नसकेको जनाइएको छ। यसले सेवाग्राहीलाई सास्ती खेप्न बाध्य बनाएको छ भने दैनिक कामकाजका लागि लाइसेन्स आवश्यक पर्ने नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने भन्दै आएकाे सरकारले लामो समयसम्म आधारभूत सेवा नै अवरुद्ध हुँदा पनि चासाे नदिएकाे कारण सेवाग्राहीले अनावश्यक दुःख र हैरानी भोग्नुपरेको छ ।














प्रतिक्रिया दिनुहोस्