जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार २१:१४

व्यक्ति होइन, कार्यशैली परिवर्तनले मात्रै एमालेलाई नयाँ उचाइमा पुर्‍याउँछ : आनन्द श्रेष्ठ


रामेछाप, साउन २१ । नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार पार्टीको कार्यशैली परिवर्तन गर्न नसके एमालेले अपेक्षित सफलता हासिल गर्न नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) रामेछापको आठौँ पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले अहिले वर्गीय संरचना, वर्ग चेतना र जनताका आवश्यकता विगतभन्दा फरक भइसकेकाले पार्टीले पनि समयको मागअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनुभएको हो ।अहिले वर्ग चेत र वर्ग बदलिएको छ, वर्गीय समस्याहरू पनि फेरिएका छन्, बदलिँदो परिस्थितिअनुसार हामी अघि बढ्न सक्यौँ भने मात्रै पार्टीलाई थप सशक्त बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।

पार्टी पुनर्गठनलाई व्यक्तिको हेरफेरका रूपमा बुझ्नु गलत हुने श्रेष्ठको धारणा छ । “पार्टीमा पुनर्गठन भनेको व्यक्ति परिवर्तनको कुरा होइन, यो चरित्र र दृष्टिकोण परिवर्तन गर्ने विषय हो”, उहाँले भन्नुभयाे ।

एमाले अध्यक्षलाई लिएर हुने अतिवादी टिप्पणीको उहाँले आलोचना गर्नुभयो । “एमाले अध्यक्षको आलोचना गर्नै हुँदैन भन्ने वा उहाँलाई समाप्त पार्नुपर्छ भन्ने दुवै कोण सही होइनन्, हामीले व्यक्ति होइन, बदलिँदो परिस्थितिअनुसार कार्यशैली परिवर्तन गर्ने विषयमा केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो ।

श्रेष्ठले पुरानै शैलीबाट पार्टीलाई अघि बढाउन नसकिने अवस्था आइसकेको उल्लेख गर्दै “कार्यशैली परिवर्तन भएन भने व्यक्ति जो आए पनि केही नहुने बताउनुभयो । “युगको मागअनुसार कार्यशैली परिवर्तन गर्न सकियो भने नेतृत्वमा जो भए पनि पार्टी अघि बढ्छ”,, उहाँले भन्नुभयो ।

उहाँले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई संगठनभित्र नयाँ सोच, नयाँ संस्कार र जनतामुखी कार्यशैली विकास गर्न आग्रह गर्नुभयो । “तलदेखि माथिसम्म कार्यशैली परिवर्तन गरेर काम गरौँ, केही बिग्रिएको छैन, हामी पहिलाभन्दा अझ राम्रो अवस्थामा पुग्न सक्छौँ”, श्रेष्ठले भन्नुभयो ।