जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार २१:३६

राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, विकास र समृद्धिका लागि काम गर्नु गल्ती हो भने एमाले त्यही गल्ती बारम्बार गर्न तयार छ ः कैलाश ढुंगेल 


रामेछाप, साउन २१ । नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले गल्ति गरेकाे कारण नभइ बदलिएको मत प्रवृत्ति र सामाजिक सञ्जालको प्रभावका कारण पछिल्लो निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न नसकेको बताउनु भएकाे छ ।

नेकपा (एमाले) रामेछापको आठौँ पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमालेले मुलुकको विकासमा गरेको योगदानको इतिहास कसैले मेटाउन नसक्ने दाबी गर्नुभयाे । “एमालेले गल्ती गरेको कारण गएको निर्वाचनमा कम मत आएको होइन, राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, विकास र समृद्धिका लागि काम गर्नु गल्ती हो भने एमाले त्यही गल्ती बारम्बार गर्न तयार छ”, ढुंगेलले भन्नुभयाे ।

ढुङ्गेलले देशका हरेक विकास निर्माणका आयोजनामा एमालेको योगदान रहेको उल्लेख गर्दै “यो देशको विकासको हरेक काम कोट्याएर हेर्दा एमालेको रगत र पसिना भेटिने धारणा राख्नुभयाे ।

उहाँले पूर्वाधार विकासले नागरिकको जीवनशैली परिवर्तन गरेको भए पनि अब आम्दानी वृद्धि गर्नुपर्ने चुनौती रहेको बताउनुभयाे। “पूर्वाधार र विकासले खर्च बढाएको छ, अब त्यसअनुसार आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयाे ।

निर्वाचन परिणामबारे टिप्पणी गर्दै उहाँले “अल्गोरिदमका कारण मत परिवर्तन भएको बताउनुभयाे । “एमालेले कुनै गल्ती गरेको छैन, यस पटक मत कम आयो, अर्को पटक यही जमिनमा टेकेर एमालेले विजय हासिल गर्छ” ढुंगेलले भन्नुभयाे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे उठिरहेका बहसबारे उहाँले कसैले छाड भन्दैमा केपी ओलीले अध्यक्ष नछाड्ने बताउनुभयाे। “उहाँ कसैको ऋण खाएर अध्यक्ष बन्नुभएको होइन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो, हट्नु परे पनि महाधिवेशनबाटै हट्नुहुन्छ”, ढुंगेलकाे भनाइ थियाे ।

उहाँले नेतृत्व परिवर्तन पार्टीको विधि र प्रक्रियाअनुसार हुने बताउनुभयाे । महाधिवेशनको समयमा ओलीको प्रशंसा गर्नेहरू अहिले हटाउनुपर्ने अभियानमा लागेको टिप्पणी गर्दै ढुंगेलले राजनीति भावनामा होइन, सिद्धान्त र संगठनको विधिअनुसार चल्ने विषय भएको बताउनुभयाे । “महाधिवेशनमा देवत्वकरण गर्ने, अहिले दानवीकरण गर्ने ? के राजनीति बच्चाकाे खेल हाे ?” ढुंगेलले प्रश्न गर्नुभयाे ।

प्रदेश सरकार गठनबारे बोल्दै ढुङ्गेलले कांग्रेसले सत्ता गठबन्धन छाडेपछि एमाले नेकपासँग सहकार्य गर्न पुगेको बताउनुभयाे। उहाँले एमालेले मुख्यमन्त्री पाएका प्रदेशमा संसदीय दलले नै आफ्नो नेता छान्ने र त्यहा कुनै समस्या नरहेकाे बताउनुभयाे ।

पार्टीभित्र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै उहाँले जहाँ पनि केपी ओली नै पुग्नुपर्छ भन्ने नहुने बताउनुभयाे । “सबैले आफ्नो–आफ्नो खेती गर्नुपर्छ, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, त्यसरी काम गरे पार्टी आफैँ बलियो बन्छ”, ढुंगेलले भन्नुभयाे ।

नेतृत्वको आलोचनाबाट पार्टी बलियो नबन्ने उल्लेख गर्दै उहाँले पार्टीमा बहस हुनुपर्ने तर बहस पनि ठाउँमा हुनुपर्ने बताउनुभयाे । “रुञ्चे कुरा गरेर पार्टी बन्दैन”, उहाँले भन्नुभयाे।

ढुङ्गेलले एमालेजस्तो बलियो संगठन र नेतृत्व अन्य कुनै दलसँग नरहेको दाबी गर्दै अहिलेको अवस्थालाई अस्थायी चुनौतीका रूपमा चित्रण गर्नुभयाे। “अनिकाल लागेको बेला झगडा हुन्छ, अहिले पार्टीमा त्यही अवस्था हो, सबै मिलेर लागौँ, एमालेमा फेरि चाँडै सहकाल आउँछ,” उहाँले भन्नुभयाे।