जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार २१:५५

नेतृत्वको मानमर्दन गरेर पार्टी सही ठाउँमा पुग्दैन : माधव ढुङ्गेल


रामेछाप, साउन २१ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधवप्रसाद ढुङ्गेलले पार्टीभित्र आत्मसमीक्षा, आन्तरिक एकता र जनतामाझ सक्रिय उपस्थितिमार्फत एमालेलाई पुनः सशक्त बनाउनुपर्ने बताउनुभएको छ।

नेकपा (एमाले) रामेछापको आठौँ पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै उहाँले पार्टी नेतृत्वको मानमर्दन गरेर बहस अघि बढाउँदा संगठन सही दिशामा अघि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो। “पार्टी अध्यक्षको मानमर्दन गरेर बहस सुरु गर्‍यौँ भने पार्टी सही ठाउँमा पुग्दैन, विषयवस्तु अन्तैतिर मोड्ने होइन, आफ्ना कमजोरीको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

भदौ २४ गते भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै उहाँले मुलुकको सुरक्षा प्रणालीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। “सिंहदरबार र बालुवाटारको सुरक्षा जिम्मा लिएको नेपाली सेनाले किन ती स्थान सुरक्षित राख्न  सकेन भन्ने विषयमा गम्भीर खोजी हुनुपर्छ,” उहाँले भन्नुभयो।

देशको विकास, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सार्वभौमसत्ताको संरक्षणमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले देशको मुहार फेर्ने काममा एमालेको भूमिका कतै कमजोर नभएकाे दाबि गर्नुभयाे। राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्ने विषयमा पनि एमाले दृढ रूपमा उभिएको उहाँकाे भनाइ छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बोल्दै उहाँले “व्यक्तिगत रूपमा केही कमजोरी हुन सक्छन्, तर समग्र रूपमा केपी ओलीलाई किनारामा राखेर राष्ट्रियता, समृद्धि, सुरुङमार्ग वा चुच्चे नक्साजस्ता एजेन्डा बोकेर जनतामाझ जान सकिँदैन,” भन्ने धारणा राख्नुभयो।

उहाँले पछिल्लो निर्वाचनको समीक्षा गम्भीर रूपमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै चुनाव किन हार्यौँ भन्ने विषयमा पार्टीका सबै तहमा इमान्दार समीक्षा र आत्मालोचना हुनुपर्ने बताउनुभयाे । “हाम्रो भूमिका मैदानमा हुनुपर्छ, हामी जित्छौँ,” उहाँले भन्नुभयो।

पार्टीभित्र आपसी आरोप–प्रत्यारोपभन्दा एकतालाई प्राथमिकता दिन आग्रह गर्दै उहाँले एमाले आफ्नै कार्यकर्तालाई गाली गरेर बस्ने पार्टी नभएकाे बताउनुभयाे। “आन्तरिक एकता कायम गरेर अघि बढ्यौँ भने हामीलाई कसैले रोक्न सक्दैन,”  ढुंगेलले भन्नुभयो।

उहाँले पार्टीले सञ्चालन गर्न लागेको ‘मिसन पार्टी जागरण अभियान’ टोल–टोलसम्म पुगेर संगठनलाई थप चलायमान र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा एमाले केन्द्रीय सदस्य गीता कार्कीले पार्टीभित्र गुटबन्दी त्यागेर सबै नेता–कार्यकर्ता एकताबद्ध रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयाे । उहाँले मुलुकको समकालीन राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै वर्तमान शासन प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। “देशमा अहिले टीओबीले शासन गरिरहेको छ, हिजो पानी बाँड्ने केटोले आज देश चलाइरहेको छ,” कार्कीले भन्नुभयो।

राजनीतिक परिवेश बदलिएको उल्लेख गर्दै उहाँले यो देशमा अर्को दलाइ लामाजन्मिसकेको दाबी गर्नुभयाे ।

पार्टीभित्रको एकतालाई सबैभन्दा महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उहाँले पार्टी नेतृत्व संकटमा परेको बेला खाल्टो खन्नेले अन्ततः आफ्नै लागि खाल्टो खनेको हुने बताउनुभयाे ।  “त्यसैले गुटबन्दी नगरौँ, सबै एक भएर अघि बढौँ,” कार्कीले भन्नुभयो।

उहाँले पार्टीभित्र प्रत्येक नेता–कार्यकर्ताले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिँदै संगठनलाई थप सुदृढ बनाउन सबै तहबाट सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।