काठमाडौं, साउन २२ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, सडक कटान र बाढीको जोखिम बढेपछि एक दर्जनभन्दा बढी सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण देशका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको हो। प्रहरीका अनुसार पहिरो, सडक कटान तथा सम्भावित बाढीका कारण यात्रामा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यस्तै, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि सो क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोसी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। वैकल्पिक रूपमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
यसै गरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भरिकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ। त्यस्तै, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्