काठमाडौं, साउन २२ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा विधेयक तथा एउटा समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
आजको बैठकमा प्रस्तुत हुने विधेयकहरूमाथि आवश्यक संसदीय प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्