जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार १७:०८

एमाले रामेछापको पार्टी कार्यालय भव उद्घाटन, जनताको विश्वास पुनः जित्न आत्मसमीक्षा आवश्यक रहेको महासचिव शंकर पोखरेलको भनाइ 


रामेछाप, साउन २२ । नेकपा एमाले रामेछापको आफ्नै पार्टी कार्यालय भवन बनेको छ ।  साँढेदुईकरोड भन्दा बढी लागतमा बनेको चार तले भवनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो । भवनमा अध्यक्ष, सचिव, कार्यालयको सचिवालय, लेखा कमिटी, निर्वाचन कमिटी, जनसंगठनहरु, मन्थली नगरपालिका कमिटीको कार्यकक्षका साथै पुस्तकालय र ३ सय ५० जना बढी अट्ने हल समेत रहेको पार्टी उपाध्यक्ष एवं वित्त विभागका प्रमुख होतराज ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेको पार्टी कार्यालय भवन रामेछापका जनताहरूको आस्थाको केन्द्रका रूपमा विकसित हुनु पर्नेमा जोड दिनुभयो । उहाँले एमाले एमाले देशभक्ति र जनताको समस्या समाधानको सन्दर्भमा सबैभन्दा सशक्त पार्टी भएको बताउनुभयो । तर गएको निर्वाचनमा एमालेले जनाको विश्वास जित्न नसकेको पोखरेलको धारणा छ । ‘जनता हामीबाट टाढिएका छन्, जो वर्गको राजनीति हामीले गरिरहेका छौँ, त्यो वर्ग नै हामीसँग टाढिएको छ, यसको कारण खोज्नु पर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको अवस्थालाई चिरेर अघि बढ्ने सामर्थ्य नेकपा एमालेले राख्नु बताउनुभयो । यसका लागि एमालेले आफूलाई रिभ्यु गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी नयाँ ढङ्गले अगाडि बढ्दछ भन्ने कुरामा कार्यकर्ता विश्वस्त हुनु पर्दछ, जनतालाई विश्वस्त बनाउनु पर्दछ’, उहाँले भन्नुभयो ।

एमालेले आफ्ना कमजोरीहरू स्वीकार गरेर अघि नबढ्दा जनताले राम्रा काम समेत सुनिनहेको उहाँले बताउनुभयो । अध्यक्षको पक्षमा सबैभन्दा बढी डिफेन्स गर्ने व्यक्ति आफू भएको स्विकार्दै तर त्यति गरेर मात्र जनताले नस्विकारेकाले अब कमजोरी सच्याएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । बहस र छलफलले नै समस्या समाधान गर्ने बताउँदै अहिले पार्टी त्यही अभियानमा लागेको जानकारी दिनुभयो । ‘विगतका घटनाको वस्तुनिष्ठ समीक्षा गरेर भविष्यको व्यवस्थित कार्ययोजना बनाएर अगाडि बढ्न हाम्रो पार्टी सक्षम छ’, पोखरेलले भन्नुभयो ।

एमालेले मानिसको जीवनस्तर वृद्धिको लागि धेरै काम गरेको बताउँदै सोही अनुसारको नागरिकको आम्दानीको श्रोत भने बढाउन नसकेको बताउनुभयो । ‘त्यो असन्तुष्टि आजको समाजको विद्रोहको रूपमा देखियो’, पाखरेलले भन्नुभयो ।

नयाँ पुस्तालाई पार्टीमा जोड्न उनीहरूको मनोविज्ञान बुझ्न आवश्यक रहेको पोखरेलको भनाइ छ । ‘कमजोरीबाट सिकेर अघि बढ्नु पर्छ, कमजोरीलाई सुधार गर्ने नै शिखरमा पुग्न सक्दछन्, कमजोरीलाई स्विकार्न कुनै अप्ठेरो मान्नु पर्दैन’, उहाँले भन्नुभयो ।

भदौ २३ र २४ को घटनामा टिओबी, बार्बरा फाउण्डेसन लगायतले भूमिका खेलेको कुरा बाहिर आइसकेको उहाँले बताउनुभयो । यो बाह्य हस्तक्षेप अब नलुकेको उहाँले स्पष्ट पार्नुभयो । दलहरूका बिचमा रहेको विभाजन र जनतामा रहेको असन्तुष्टि कारण भदौ २३ र २४ को घटना सामना गर्न नसकिएको पोखरेलले सुनाउनुभयो ।

जबसम्म युवालाई उत्पादनको काममा जोड्न सकिँदैन तबसम्म देश नबन्ने उहाँले बताउनुभयो । ‘बाहिर गएर गरेको कमाइले कुनै पनि देश बनेको छैन’, उहाँले भन्नुभयो ।
एमालेको आन्दोलन यथास्थितिवादी आन्दोलन नभएको बताउनुभयो । एमालेको आन्दोलन प्रगतिशील र परिवर्तनको आन्दोलन भएको पोखरेलको भनाइ छ । यो कुरालाई बुझ्न नसक्ने हो भने पार्टी अगाडि नबढ्ने उहाँको धारणा छ ।

सूचना प्रविधिको उपयोग गरेर अब पार्टीको अभियान अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । खराब मानिसको हातमा सूचना प्रविधिका उपकरण पुगेका कारण देश आजको अवस्थामा आएको पोखरेलले बताउनुभयो । ‘डिजिटल वार जित्यौँ भने मात्र हामीले लडाइँ जित्दछौँ, यसको लागि हामी युवाका बिचमा जानै पर्छ, यही हो पार्टीको पुनर्गठन भनेको कुरा’, पोखरेलले भन्नुभयो ।

पार्टीका नेताहरू अहिलेको समस्या समाधानको लागि छलफमा बसेकाले समस्याको समाधान गरेर निस्कने उहाँले बताउनुभयो । ‘यो देश बनाउने यही पार्टीले हो, बनाउँछ यसले, द्विविधामा नरहनुस्’, उहाँले भन्नुभयो ।

बालेन नेतृत्वको सरकार कुनै चुनौती नभएको उहाँले बताउनुभयो । रास्वपा जसरी उदायो त्यसै गरी अन्त्य हुने पोखरेलको धारणा छ ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पार्टी भवन निर्माणमा योगदान गर्ने सबै समान हिस्सेदार भएको बताउनुभयो । पार्टीको भवन इँटाको थुप्रो मात्र नभएर आस्थाको केन्द्र भएको स्पष्ट पार्नुभयो ।

उहाँले यो देशको विकास निर्माणमा सबैभन्दा ठुलो हिस्सा नेकपा एमालेको भएको बताउनुभयो । जनताका हरेक दुःखको सारथि नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । ‘चुनाव हार्दैमा हाम्रो अभियान रोकिँदै, हामी निरन्तर जनताको सेवामा समर्पित रहने छौँ’, ढुङ्गेलले भन्नुभयो ।

उहाँले भदौ २३ र २४ को घटनामा नेपाली सेना लगायत सुरक्षा निकायको भूमिका संशयपूर्ण रहेको स्पष्ट पार्नुभयो । ‘मेरो सेना र मेरा सुरक्षा निकाय माथि मलाई प्रश्न उठाउन मन छैन तर दुनियाँले प्रश्न उठाएका छन्’, उहाँले भन्नुभयो ।

उहाँले पार्टी भित्र अहिले चलिसहेको बसको सन्दर्भ जोड्दै हिजो केपी ओलीलाई काँधमा बोकेर हिँड्ने व्यक्ति शंकर पोखरेले भएको स्मरण गराउनुभयो । पार्टीमा अध्यक्ष र महासचिव बिच केही समस्या हो कि भन्ने देखिएको बताउँदै उहाँले त्यसका लागि पार्टी अध्यक्ष र महासचिव बसेर उहाँहरू बिच एकता छ भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो ।

जनताले चार महिनामा अहिलेको सरकारलाई निहाली सकेका बताउँदै गएको निर्वाचनमा प्राप्त गरेको जनमत अहिलेको सरकारसँग नरहेको उहाँले दाबी गर्नुभयो । अहिले नै निर्वाचन भए पनि रास्वपाले गएको चुनावमा ल्याएको जति मत ल्याउन नसक्ने ढुङ्गेलले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य  गीता कार्कीले नयाँ बनेको भवन रामेछापका नगारिकहरुको दुःख सुख साट्ने ठाउँ बन्नु पर्नेमा जोड दिनुभयो । यति बेला देशका लोकतान्त्रिक शक्ति माथि आक्रमण भइरहेको बताउँदै उहाँले एमालेलेले सबै लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा लाएर आक्रमणको सामना गर्न नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले राम्रो काम गर्दा परिणाम आउने बताउँदै आफूहरूले जग्गा जोडेको ठाउँमा आज भव्य भवन बनेको बताउनुभयो । उहाँले एमालेले पूर्वाधार तथा आर्थिक, सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै ३५ वर्षमा केही भएन भन्नेलाई बहसका लागि आउन चुनौती दिनुभयो । एमालेले जनताको पक्षमा हिजो पनि काम गरेको, आज पनि गर्ने र भोलि पनि गरिरहने स्पष्ट पार्नुभयो ।

नेकपा एमालेलाई कमजोर पार्न नेपालको प्रशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय शक्ति समेत लागेका उहाँले बताउनुभयो । उनीहरूले फैलाएको अलगोरिदमको कारण एमाले कमजोर भएको बताउँदै उहाँले त्यसलाई चिरेर निस्कनु पर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सल्लाहकारी कमिटीका सदस्य कमलप्रकाश सुनुवारले पार्टी र पार्टीको भवनलाई अहिलेको अवस्थामा ल्याउन धेरै मानिसहरूको योगदान रहेको बताउनुभयो । उहाँले अहिले पार्टी र देश गम्भीर मोडमा रहेको बताउँदै यसबाट बाहिर निस्कन पार्टी संगठित ढङ्गले अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

भवन निर्माण समितिका संयोजक, पार्टी वाग्मती प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले पार्टीको दीर्घकालीन योजना अन्तर्गत कार्यालय भवन बनेको बताउनुभयो । सोही परिकल्पना गरेर भवन बनाएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले पार्टीमा भएका कमजोरीको गम्भीर समीक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सबैको सहयोग र सद्भावको कारण पार्टी कार्यालय बनेको पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम कँडरियाले बताउनुभयो । उहाँले पार्टीको भवन सबैको हो भन्ने अपनत्वबोध हुने गरी बनेको बताउनुभयो ।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर देशी विदेशी शक्ति लागेका बताउँदै त्यसबाट एमाले बच्नु पर्ने बताउनुभयो ।
मदन आश्रित स्मृति भवनका अध्यक्ष एवं नेकपा एमाले वाग्मती प्रदेश सल्लाहकार अध्यक्ष तुलप्रसाद कँडेलले कार्यालय भवन निर्माणको लागि जग्गा र जग बसाउन धेरै मेहनत गरेको स्मरण गर्नुभयो ।