हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ भने हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवासमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्