काठमाडौं साउन २३। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ । उहाँ चढ्ने मोटरसाइकल गोरुसिङ्गे जंगलमा फेला परे पनि उहाँको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनुभएका पूर्वमेयर सिंहको खोजी प्रहरीले शुक्रबार रातिसम्म गरे पनि फेला पार्न नसकेपछि शनिबार बिहानदेखि पुनः खोजी कार्यलाई तीव्रता दिइएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले स्थानीयवासी तथा उहाँका आफन्तको सहयोगमा बिहानैदेखि गोरुसिङ्गे जंगल क्षेत्रमा खोजी गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति करिब १ः३० बजेसम्म ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरिएको थियो । राति प्रहरी, स्थानीयवासी तथा आफन्तको टोलीले जंगलका विभिन्न क्षेत्रमा खोजी गरे पनि उहाँ फेला पर्नुभएको थिएन ।
पूर्वमेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहनुभएको थियो । सोही क्रममा उहाँ यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गर्नुभएको स्थानीयवासीले बताएका छन् ।
उहाँको खोजीका लागि प्रहरी तथा स्थानीयवासीको टोलीले सम्भावित क्षेत्रहरूमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्