काठमाडौं, साउन २३ । प्रधानमन्त्री बालेन्द्र साहले वर्षौंदेखि बन्द रहेका तथा घाटामा सञ्चालन भइरहेका राष्ट्रिय उद्योग र संस्थानलाई इमान्दार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र निरन्तरको सहकार्यबाट पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने बताउनुभएको छ।
उहाँले राष्ट्रिय उद्योगहरू पुनः आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने शङ्का र चिन्ता स्वाभाविक भए पनि इमान्दार नियत र जिम्मेवारीप्रतिको प्रतिबद्धताले सुधारका नयाँ ढोका खोल्ने बताउनुभएको हो। प्रधानमन्त्री साहले भन्नुभएको छ, “जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्।”
नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभएको छ। निरन्तरको ‘टिमवर्क’, कानुन कार्यान्वयन र सुधारका प्रयासका कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्री साहको भनाइ छ।
प्रधानमन्त्रीका अनुसार वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभएको छ।
चालु आर्थिक वर्षमा नेपाल औषधि लिमिटेडले ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ। सरकारले अघि बढाएको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ।
त्यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री साहले बताउनुभएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी छ।
नेपाल वायुसेवा निगमको आर्थिक अवस्थासमेत सुधारोन्मुख रहेको प्रधानमन्त्री साहले दाबी गर्नुभएको छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभएको छ। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत सोही अवधिमा भुक्तानी गरिएको उहाँले बताउनुभएको छ।
दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री साहले बताउनुभएको छ। उहाँका अनुसार आठ महिनासम्म रहेको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयासपछि दैनिक दूध बिक्री ३५ प्रतिशतले बढेको उहाँले उल्लेख गर्नुभएको छ।
डीडीसीको दैनिक राजस्व संकलन औसत ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्री साहको भनाइ छ। कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको उहाँले बताउनुभएको छ। साथै, खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभएको छ।
सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा समेत उल्लेख्य सुधार भएको प्रधानमन्त्री साहले बताउनुभएको छ। सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको उहाँले उल्लेख गर्नुभएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उहाँको भनाइ छ।
हाल वैद्यखानाबाट १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री साहले बताउनुभएको छ। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ।
चालु आर्थिक वर्षमा पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने, जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्नेलगायतका लक्ष्यसमेत राखिएको प्रधानमन्त्री साहले बताउनुभएको छ।
प्रधानमन्त्री साहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।”
देशलाई उत्पादन वृद्धि गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले यस यात्रामा नागरिकको साथ र भरथेगको अपेक्षा गर्नुभएको छ। ‘माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ’, उहाँले आज बिहान सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्