जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार ११:०६

प्रधानमन्त्री बालेनद्र साहलाई एमाले महासचिव शंकर पोखरेलको सुझाव : एक्लो भएको चिन्ता छाड्नुस्, कार्यशैली बदल्नुस्


काठमाडौं, साउन २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई आफू एक्लो भएको चिन्ता छाडेर कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।

महासचिव पोखरेलले प्रधानमन्त्रीले आफ्ना चुनावी वाचा र प्रतिबद्धता सम्झिनुपर्ने तथा प्राप्त जनमतको सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुपर्ने र प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण रूपमा उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सुझाव दिँदै भन्नुभएको छ, “प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्!”

उहाँले प्रधानमन्त्रीले आफ्ना कमजोरीहरू स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढे कहिल्यै एक्लो भएको अनुभूति गर्नुनपर्ने बताउनुभएको छ । “यदि तपाईँले आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झनुहुन्छ, अपार जनमतको साँचो सम्मान गर्नुहुन्छ, संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुहुन्छ, प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुहुन्छ र आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नुहुन्छ भने तपाईँले कहिल्यै एक्लो भएको अनुभूति गर्नु पर्दैन,” पोखरेलले भन्नुभएको छ ।

प्रधानमन्त्रीको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले त्यसले प्रधानमन्त्रीलाई एक्लो मात्र नभई असफल बनाउने दाबीसमेत गर्नुभएको छ ।“ तपाईँ अहिले जसरी चल्दै हुनुहुन्छ-त्यसले तपाईँलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ,” उहाँले लेख्नु भएकाे छ ।

महासचिव पोखरेलले समयमै सचेत र गम्भीर भएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । “समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस्,” उहाँको सुझाव छ ।

यस अघि गए राति प्रधानमन्त्री साहले आफू एक्लै लड्ने बताउनुभएकाे थियाे । उहाँले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे थियाे- 

केही समय लाग्छ, सही समय आउनलाई।

ढिला होला, तर गलत हुँदैन।

नआत्तिनुहोस्।

सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।

कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।

केही समय लाग्छ, सही समय आउनलाई।