जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार ११:२४

चार वर्षमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को : मध्यपुरथिमिको आन्तरिक राजस्व ९३.३९ प्रतिशतले वृद्धि


भक्तपुर, २२ साउन । मध्यपुरथिमि नगरपालिकाले पछिल्लो चार वर्षको अवधिमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससँगै आन्तरिक राजस्व संकलनमा उल्लेख्य वृद्धि गरेको जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा रु. ५२ करोड ५६ लाख १ हजार ४२७ आन्तरिक राजस्व संकलन गरेको छ ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको नगरपालिकाको चारवर्षे विकास तथा उपलब्धिबारे सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करको दर वृद्धि नगरी करको दायरा विस्तार र राजस्व प्रशासनमा सुधारमार्फत आन्तरिक राजस्व बढाउन सफल भएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु. २७ करोड १७ लाख ५८ हजार ५८५ आन्तरिक राजस्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षमा गत असार मसान्तसम्म राजस्व संकलन ९३.३९ प्रतिशतले वृद्धि भएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा रु. १८ करोड ४५ लाख ९४ हजार ६६७, २०७९/८० मा रु. २४ करोड १३ लाख ३८ हजार ७४८ र २०८०/८१ मा रु. ३० करोड ४ लाख ४४ हजार ५६५ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाइएको जानकारी दिनुभयो । लामो समयदेखि कर नतिरेका ठूला व्यवसायीबाट कर संकलन गर्न सफल भएको तथा करको दायरामा नआएका व्यवसायलाई समेत करको दायरामा ल्याइएको उहाँले बताउनुभयो । “करको दायरा विस्तार गर्दै करसम्बन्धी नीतिमा सुधार ल्याएका कारण राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि रु. ५५ लाख मात्र बजेट उपलब्ध गराएको छ । नगरपालिकासँग रु. ६२ करोड मौज्दात रहेको उल्लेख गर्दै उहाँले नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट रु. ३६ करोडको लागतमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माणसमेत सुरु गरेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले चार वर्षको अवधिमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्नुभयो । “हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ । सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरेका छौँ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले हालसम्म ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो । जनताको आवश्यकता र गुनासोलाई सम्बोधन गर्दै समावेशी ढंगले विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ छ ।

शिक्षामा छात्रवृत्ति र दिवा खाजामा जोड

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन तथा शिक्षक व्यवस्थापनमा काम गर्दै आएको जनाएको छ । कक्षा १ देखि १० सम्मका ४ हजार ८१४ जना विद्यार्थी तथा कक्षा ११ र १२ का २०४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाको विस्तार

नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रियालगायत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको छ । अस्पतालबाट दैनिक करिब १ हजार २०० बिरामीले सेवा लिइरहेको उहाँले बताउनुभयो ।

पूर्वाधार विकासमा पनि प्राथमिकता

नगरपालिकाले सडक स्तरोन्नति तथा कालोपत्रे, घरघरमा खानेपानी पुर्‍याउने, विद्यालय भवन निर्माण, स्वास्थ्य संस्था तथा पार्क निर्माण, मठमन्दिर पुनर्निर्माण र मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ ।

‘मध्यपुर उज्यालो अभियान’ अन्तर्गत मध्यपुरथिमि क्षेत्रका विभिन्न सडकमा करिब १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नीलबाराही क्षेत्र संरक्षणको काम भइरहेको तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कृषि बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई कुल रु. ५२ लाख ४० हजार फिर्ता गरिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउँदै आएको उहाँको भनाइ छ ।

२ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा

कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु. २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालबाट दैनिक करिब १ हजार २०० बिरामीले सेवा लिइरहेको बताउनुभयो । निर्माण सम्पन्न हुने चरणमा रहेको सुविधासम्पन्न नयाँ भवनबाट विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

बीमा रकम प्राप्त नभए पनि देशका ७७ वटै जिल्लाबाट उपचारका लागि आएका बिरामीलाई अस्पतालले सेवा प्रदान गरिरहेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले पछिल्लो चार वर्षमा बजेट कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो । जनप्रतिनिधिको वर्तमान कार्यकाल अन्तिम वर्षमा प्रवेश गरेकाले यस वर्ष पनि जनताको चाहना र आवश्यकताअनुसार महत्वपूर्ण उपलब्धि हासिल गर्ने गरी काम गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति एवं क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनतासँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको ‘सिंहदरबार’ भएकाले जनताको सहज पहुँच र स्थानीय आवश्यकतालाई जनप्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।