काठमाडौँ, साउन २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई एक्लो भएको चिन्ता छाडेर कार्यशैली परिवर्तन गर्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री शाहले आफू एक्लै लड्नुपर्ने अवस्था आएको संकेत गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले त्यसको जवाफ दिँदै समय छँदै सचेत र गम्भीर बन्न आग्रह गर्नुभएको हो ।
पोखरेलले प्रधानमन्त्री शाहलाई आफ्ना चुनावी वाचा र प्रतिबद्धता सम्झन तथा प्राप्त जनमतको सम्मान गर्न सुझाव दिनुभएको छ । उहाँले संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न तथा आफ्ना कमजोरी स्वीकार गरी सच्याउँदै अघि बढ्न आग्रह गर्नुभएको छ ।
‘प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्,’ पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँले आफ्नै दललाई विश्वासमा लिएर अघि बढ्न र प्रधानमन्त्री निर्वाचित गर्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ ।
पोखरेलले प्रधानमन्त्री शाहले आफ्ना कमजोरी स्वीकार गर्दै कार्यशैली सुधार्न सके कहिल्यै एक्लो भएको अनुभूति गर्न नपर्ने उल्लेख गर्नुभएको छ ।
तर अहिलेको कार्यशैलीलाई निरन्तरता दिए प्रधानमन्त्री शाह एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने दाबीसमेत पोखरेलले गर्नुभएको छ । समय छँदै सचेत र गम्भीर बन्न उहाँले प्रधानमन्त्री शाहलाई आग्रह गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्