जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार १८:१७

 सरकारलाई कुलमानको प्रश्न : देशमा उत्पादित विद्युत् खेर फाल्ने, ग्यासमा लाइन लगाउने ?


काठमाडौं, साउन २३। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ तथा सामुदायिक खानेपानीको लागि प्रयोग हुने विद्युत्मा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभएको छ।

अत्यावश्यक क्षेत्रमा विद्युत् महसुलमा सहुलियत दिनुपर्नेमा उल्टै भ्याट लगाउने सरकारको निर्णय गलत भएको उहाँले बताउनुभएको छ। कृषि सिँचाइका लागि प्रयोग हुने विद्युत् निःशुल्क उपलब्ध गराउनुपर्ने उहाँको धारणा छ। “कृषि सिँचाइको लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ, यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ,” घिसिङले भन्नुभएको छ।

उहाँका अनुसार उहाँको पालामा सिँचाइको महसुलमा डिमान्ड चार्ज छुट गरी प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गर्नुभएको थियो। त्यस्तै, सामुदायिक खानेपानी लिफ्टिङको विद्युत् महसुल पनि डिमान्ड चार्ज छुट गरी प्रतियुनिट ९ रुपैयाँबाट घटाएर करिब ४ रुपैयाँ २० पैसा कायम गरिएको उहाँले उल्लेख गर्नुभएको छ।

कृषकले मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडालगायतका लागत निरन्तर बढिरहेको अवस्थामा विद्युत्मा समेत भ्याट थपिँदा कृषि क्षेत्र थप मारमा पर्ने उहाँको भनाइ छ। “कृषकको मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सबैको भाउ बढेको बढ्यै छ, त्यसमाथि विद्युत्मा पनि भ्याट थपिएको छ तर उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभएको छ।

लिफ्ट सिँचाइबिना खेती गर्न कठिन हुने तथा गाउँ-गाउँमा पानी लिफ्ट नगरी खानेपानीको पहुँच पुर्‍याउन समस्या हुने उहाँले बताउनुभएको छ। घरायसी विद्युत् उपभोगमा समेत भ्याट लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको सुझाव छ।

“ग्यास सिलिण्डर होइन, अब इन्डक्सन चुलो बाँड्ने स्किम सरकारले ल्याउनुपर्छ, देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने, यो कस्तो विडम्बना हो ?” घिसिङले प्रश्न गर्नुभएको छ।

उहाँले घरायसी ग्राहकलाई विद्युत्मा सहुलियत दिएर इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ। देशको विद्युत् पूर्वाधार इन्डक्सन चुलोको प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जिङ बढे पनि धान्न सक्ने अवस्थामा रहेको उहाँको दाबी छ। “अब सबैको घरघर विद्युतबाट चलाऔँ, देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ। विदेशी मुद्रा सञ्चिति बढ्छ,” उहाँले भन्नुभएको छ।

घिसिङले आफ्नो घरमा समेत भान्सा र सवारीसाधन दुवै विद्युत्बाट सञ्चालन भइरहेको उल्लेख गर्दै विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले विद्युत्मा लगाइएको भ्याट तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गर्दै त्यसको सट्टा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ। “सरकारले विद्युत्मा लगाएको भ्याट तत्काल फिर्ता लिन जोडदार माग गर्दछौ, यसको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्बौंको बक्यौता उठाउन तत्काल कदम चालियोस्,” घिसिङले भन्नुभएको छ।