जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार ०८:१९

नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्छ: अध्यक्ष ओली


काठमाडौँ, साउन २४ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्ने बताउनुभएको छ ।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रको समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म यस्तो अवस्था नरहने बताउनुभएको हो ।

उहाँले दशकौँ लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा तथा सुदृढीकरण गर्ने दायित्व सबैको भएको उल्लेख गर्नुभएको छ ।

ओलीले नेपालका सम्पूर्ण समुदायको सहभागितामा देशलाई समृद्ध बनाउने प्रयासमा विगतमा सफलता प्राप्त हुँदै आएको पनि बताउनुभएको छ ।

विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले यस दिनलाई आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले लिपिबद्ध गरेको ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुभएको छ ।

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक रहेको उल्लेख गर्दै ओलीले यस विविधतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ ।

सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ प्रगाढ बनाउँदै राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।