जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार ०९:२०

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी


काठमाडौं, साउन २४। नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

सभापति गगन थापाले पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाटै गरिने बताउनुभएको छ। उहाँका अनुसार बैठक दुई–तीन दिनसम्म सञ्चालन हुनेछ। “केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौँ, दुई–तीन दिन बैठक चल्छ,” सभापति थापाले भन्नुभयो, “बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्नेछ।”

संस्थापन इतर समूहले आगामी २९ साउनका लागि राष्ट्रिय भेला आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर पार्टीभित्र देखिएका पछिल्ला विषयमा छलफल गर्न लागेको हो। इतर समूहका नेताहरूले राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्मको कदम चाल्न सकिने बताउँदै आएका थिए।

तर, सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खुला गरेपछि कांग्रेस तत्काल विभाजन हुने सम्भावना भने कमजोर बनेको देखिएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टीभित्रको विवाद, संगठन सुदृढीकरण, महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।