काठमाडौं, साउन २४। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विश्व आदिवासी दिवस केवल औपचारिक उत्सवका रूपमा सीमित नभई आदिवासी जनजातिको पहिचान, अधिकारको संरक्षण तथा सामाजिक न्याय र सद्भाव सुदृढ गर्ने संकल्पको दिन बन्नुपर्ने बताउनुभएको छ।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महासचिव पोखरेलले नेपाल तथा विश्वभर छरिएर रहेका आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति र इतिहासको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो।
उहाँले नेपाल प्राकृतिक रूपमा मात्र नभई सांस्कृतिक, भाषिक र सामाजिक रूपमा समेत अत्यन्तै समृद्ध रहेको उल्लेख गर्दै नेपालको विविधताको मुख्य आधार आदिवासी जनजातिको मौलिक संस्कृति, जीवनशैली, रैथाने ज्ञान र सभ्यता भएको बताउनुभएको छ। हिमाल, पहाडदेखि तराईसम्म फैलिएका ५९ भन्दा बढी सूचीकृत आदिवासी जनजाति समुदायको योगदानविना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने उहाँको भनाइ छ।
पोखरेलले पूर्वजहरूले संरक्षण गर्दै आएको प्रकृतिमैत्री जीवनशैली, जल, जमिन र जंगलसँगको गहिरो सम्बन्ध तथा परम्परागत ज्ञान आजको पर्यावरणीय संकटका बेला सम्पूर्ण मानव समुदायका लागि मार्गदर्शन बन्न सक्ने उल्लेख गर्नुभएको छ।
नेपालको संविधानले आदिवासी जनजातिको अधिकार, पहिचान र समावेशितालाई आत्मसात् गरे पनि व्यवहारमा अझै विभिन्न चुनौती रहेको उहाँले बताउनुभएको छ। आदिवासी जनजातिका सवालमा भाषा तथा संस्कृतिको संरक्षण, थातथलो र प्राकृतिक स्रोतको संरक्षण तथा राज्यका निकायमा समानुपातिक र अर्थपूर्ण प्रतिनिधित्वलाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ।
कतिपय आदिवासी भाषा लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै पोखरेलले मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिनुभएको छ। त्यस्तै, विकासका नाममा हुने भू–विस्थापन तथा प्राकृतिक स्रोत–साधनमाथिको पहुँचका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभएको छ।
राज्यका हरेक निकायमा समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै आदिवासी जनजाति समुदायको समग्र विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
पोखरेलले समानुपातिक र समावेशी अधिकारसहितको संविधान तथा संवैधानिक व्यवस्थामाथि चुनौती उत्पन्न भइरहेका बेला विश्व आदिवासी दिवसलाई अधिकार र पहिचानको संरक्षण तथा सामाजिक न्याय र सद्भाव बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। ‘यतिवेला समानुपातिक र समावेशी अधिकार सहितको संविधान र संवैधानिक व्यवस्था माथिनै चुनौती उत्पन्न भएका बेला ‘विश्व आदिवासी दिवस’का नाममा केवल औपचारिक उत्सव मनाउने दिन मात्र होइन; यो आफ्नो पहिचानको संरक्षण गर्ने, अधिकारको उपयोग गर्ने र सामाजिक न्याय तथा सद्भावलाई अझ बलियो बनाउने सङ्कल्प गर्ने दिन बनोस्, सबैलाई शुभकामना’, उहाँले भन्नुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्