जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १०:२७

भदाै २३-२४ काे घटनामा एकपक्षीय धारणा बनाउनु भनेको यसपछाडिको षड्यन्त्र, उत्तेजना र घुसपैठलाई उपेक्षा गर्नु हाे : शंकर पोखरेल


काठमाडौं, साउन २४। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन अपरिहार्य रहेको बताउनुभएको छ। उहाँले घटनाको समग्र पाटोको गहिराइमा नपुगी एकपक्षीय धारणा बनाउनु उचित नहुने बताउनुभएको हो।

महासचिव पोखरेलले भदौ २३ गतेको घटना नेपालको इतिहासकै अत्यन्तै दुःखद घटना र कालो दिन भएको उल्लेख गर्दै उक्त घटनालाई लिएर स्वार्थी समूहहरूले ज्यान गुमाएका तथा घाइते भएका जेन्जी युवाको भावनामाथि खेलिरहेको आरोप लगाउनुभएको छ।

“स्वार्थी समूहहरूले हरेक घटनामा भाद्र २३ मा ज्यान गुमाएका र घाइते भएका जेन्जी (Gen-Z) हरूको पवित्र भावनामाथि खेलेर सत्यलाई ढाकछोप गर्ने काम गरिरहेका छन्। भाद्र २३ नेपालको इतिहासकै एक अत्यन्तै दुःखद घटना र कालो दिन हो,” पोखरेलले भन्नुभएको छ।

उहाँले आन्दोलनका क्रममा गैर–जेन्जी समूहको भूमिकादेखि राजनीतिक तथा भूराजनीतिक चलखेलसम्मका विषयमा प्रश्न उठाउनुभएको छ। “जेन्जी आन्दोलनमा गैर–जेन्जी समूहले स्कुल ड्रेसमा बालबालिका तथा विद्यार्थीहरूलाई सडकमा उतार्न प्रोत्साहन नगरेको भए ?” भन्दै उहाँले घटनाको अर्को पाटोमाथि समेत प्रश्न गर्नुभएको छ।

त्यस्तै, भिडलाई उत्तेजित बनाउने नियतले विभिन्न समूह सहभागी नभएको भए तथा चर्चित व्यक्तित्व र राजनीतिज्ञहरूले सुरुदेखि नै वातावरण नबिगारेको भए परिस्थिति फरक हुन सक्ने उहाँको धारणा छ। “‘सरकार ढलेपछि मेरो पालो आउँछ’ भन्दै चर्चित व्यक्तित्व र राजनीतिज्ञहरूले सुरुदेखि नै माहोल नभड्काएको भए ?” उहाँले प्रश्न गर्नुभएको छ।

पोखरेलले नेपालको राजनीतिमा भूराजनीतिक चलखेल तथा राज्यविरुद्ध रहेका स्वार्थी समूह र अदृश्य तत्वहरूको भूमिकामाथि समेत अनुसन्धान हुनुपर्ने संकेत गर्नुभएको छ। “नेपालको राजनीतिमा भूराजनीतिक चलखेल यस रूपमा तीव्र नभइदिएको भए ? राज्यविरुद्ध रहेका स्वार्थी समूह र अदृश्य तत्त्वहरूले पर्दापछाडिबाट दुष्प्रयास नगरेको भए ?” उहाँले प्रश्न गर्नुभएको छ।

करिब १० हजार जनाको प्रदर्शनलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न सुरक्षा निकाय असमर्थ रहेको हो कि भन्ने प्रश्न गर्दै पोखरेलले त्यसलाई अस्वीकार गर्नुभएको छ। “के १० हजारको प्रदर्शनलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न नसक्ने निरीह अवस्थामा थिए र हाम्रा सुरक्षा निकाय ?! अवश्य पनि होइन!” उहाँले भन्नुभएको छ।

यद्यपि, सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै पोखरेलले आन्दोलनकारी युवामाथि गोली चलाइनु, ज्यान जानु र घाइते हुनु गम्भीर तथा क्षमाहीन घटना भएको स्पष्ट पार्नुभएको छ। “तर पनि, हाम्रा नवयुवाहरूमाथि गोली चलाइनु, उनीहरूको ज्यान जानु र घाइते हुनु अत्यन्तै गम्भीर र क्षमाहीन दुःखद विषय हो,” पोखरेलको भनाइ छ।

उहाँले घटनाको वास्तविकता पत्ता लगाउन त्यसपछाडिका सम्भावित षड्यन्त्र, उत्तेजना र घुसपैठबारे समेत गहिरो अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ। “यो घटनाको गहिराइमा नछिरी एकपक्षीय धारणा बनाउनु भनेको यसपछाडिको षड्यन्त्र, ‘प्रभोकेसन’ (उत्तेजना) र घुसपैठलाई उपेक्षा गर्नु हो,” पोखरेलले भन्नुभएको छ।

भदौ २३ गतेको घटनापछि भदौ २४ गते भएका उपद्रव सामान्य उत्तेजनाको परिणाम मात्र नभएको उहाँको दाबी छ। “भाद्र २३ को दुःखद घटनाको आडमा भाद्र २४ गते जे-जस्ता उपद्रव भए त्यो सामान्य उत्तेजना मात्र थिएन, बरु महिनौँदेखिको योजनाबद्ध षड्यन्त्रको परिणाम थियो भन्ने कुरा अब छर्लङ्ग भइसकेको छ,” उहाँले उल्लेख गर्नुभएको छ।

त्यसैगरी, भदौ २३ गतेको घटना नै योजनाबद्ध रूपमा गराइएको हुन सक्ने आशंकासमेत पोखरेलले व्यक्त गर्नुभएको छ। “सोही षड्यन्त्रको कडीका रूपमा नियोजित रूपमा २३ गतेको नरसंहार गराइएको हुन सक्दछ,” उहाँले भन्नुभएको छ।

पोखरेलले घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ। “तसर्थ, भाद्र २३ र २४ गतेका घटनाहरूको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन अपरिहार्य छ, जुन ढिलो–चाँडो हुने नै छ। त्यतिबेला मात्र पीडितहरूले वास्तविक न्यायको अनुभूति गर्न पाउनेछन्,” उहाँको भनाइ छ।

उहाँले अहिले जेन्जीका नाममा गैर–जेन्जी समूहले प्रभाव जमाइरहेको आरोपसमेत लगाउनुभएको छ। “अहिले त जेन्जीका नाममा उपद्रव गर्ने गैर जेन्जीहरूकै हुकुम चलिरहेको छ। नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू समेत उनीहरूबाटै शासित र निर्देशित देखिन्छन्,” पोखरेलले भन्नुभएको छ।

यस्तो अवस्थामा त्यस्ता समूहबाट सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ हुने उहाँको निष्कर्ष छ।