काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक असन्तुष्टिप्रति कांग्रेस चुप लागेर बस्न नहुने बताउनुभएको छ। उहाँले कांग्रेस राष्ट्रिय शक्ति भएकाले नागरिकसँग संवाद गर्दै सरकारलाई जबाफदेही बनाउन र गलत कामप्रति खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको छ।
आज पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति थापाले एक वर्षअघि नै तत्कालिन नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्षलाई मुलुकको काम गर्ने गति र राजनीतिको दिशाबारे आफूले सचेत गराएको स्मरण गर्नुभयो। उहाँले आफूले त्यतिबेला ‘हाम्रो काम ठीक ढंगले भएको छैन, हाम्रो गति पनि ठीक छैन र मति पनि ठीक छैन’ भनेर सचेत गराएको उल्लेख गर्दै त्यसपछि भदौ २३ र २४ गतेको घटना भएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि पनि फागुन २१ गते भएको निर्वाचनमा नागरिकले ब्यालेटमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
नयाँ सरकार गठन भएपछि पनि नागरिकसँग निरन्तर भेटघाट भइरहेको उल्लेख गर्दै सभापति थापाले नागरिकले के भनिरहेका छन् भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल हुनुपर्ने बताउनुभयो। उहाँले अहिले कतिपय नागरिक ‘अब यो देश रहन्छ त ?’ भन्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो। मुलुकमा ठूलो अनिश्चितता, निराशा र हतासाको अवस्था देखिएको भन्दै उहाँले केही नागरिकमा आक्रोशसमेत रहेको बताउनुभयो।
प्रधानमन्त्री बालेन्द्र साहले राति सामाजिक सञ्जालमा लेख्नुभएको स्ट्याटसले समेत नागरिकमा रहेको असन्तुष्टिलाई प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो। त्यस्तै सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले दिनुभएकाे वक्तव्ले पनि त्यसकाे संकेत गरेकाे थापाकाे धारणा छ ।
‘नागरिक असन्तुष्ट भएको बेला नेपाली कांग्रेस चुप लागेर बस्नु हुँदैन,’ सभापति थापाले भन्नुभयो, ‘नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो। सरकारले के गर्यो भन्ने मात्रै होइन, कांग्रेसले सबैको नेतृत्व गर्नुपर्छ र सबैसँग संवाद गर्नुपर्छ।’
उहाँले सरकारलाई जबाफदेही बनाउने तथा गलत कामप्रति खबरदारी गर्ने जिम्मेवारी कांग्रेसको भएको स्पष्ट पार्नुभयो।
सरकार गठन भएको छोटो समयमै टिप्पणी गर्न हतार गर्न नहुने भए पनि सरकारले आफूलाई पुराना राजनीतिक दलभन्दा फरक र तीव्र गतिमा काम गर्ने सरकारका रूपमा प्रस्तुत गरेकाले त्यसको काममाथि निगरानी गर्नु कांग्रेसको जिम्मेवारी भएको उहाँको भनाइ थियो।
सभापति थापाले सरकारले बारम्बार गल्ती दोहोर्याइरहेको अवस्थामा त्यसलाई सामान्य गल्तीका रूपमा मात्रै लिन नसकिने बताउनुभयो। उहाँले कार्यपालिका आफ्नो सीमाभित्र रहनुपर्ने र न्यायपालिका तथा संसद्को संवैधानिक भूमिकालाई सरकारले स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो।
सरकारले राज्यका सबै निकाय आफ्नो मातहतमा रहेको जस्तो व्यवहार गर्न नहुने उहाँको भनाइ थियो। ‘सरकारले न्यायपालिका र संसद्लाई मान्दैन, यो सबै मेरो मातहतमा हो भन्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,’ उहाँले धारणा राख्नुभयो।
सरकारका मन्त्रीहरूको सम्पत्ति छानविनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै सभापति थापाले त्यसलाई व्यक्तिको निजी मामिला भनेर पन्छाउन नमिल्ने बताउनुभयो।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा बन्दी बनाउन मिल्ने हो कि होइन भन्ने प्रश्न उठाउँदै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त सरकारले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले शासकीय अराजकताले मुलुकलाई गम्भीर संकटतर्फ लैजान सक्ने चेतावनीसमेत दिनुभयो। प्रदर्शनमुखी राजनीतिका कारण सरकारमा संवेदनशीलता र जवाफदेहीता कमजोर हुँदै गएको उहाँको टिप्पणी थियो। ‘सामाजिक सञ्जालमा लाइकको पछि दौडँदा सरकारले लाइफलाई बिर्सिएको छ,’ उहाँले भन्नुभयो।
सभापति थापाले विगतको सरकारको आलोचना गरेर मात्रै वर्तमान सरकारको जिम्मेवारी पूरा नहुने बताउनुभयो। ‘योभन्दा अघिल्लो सरकारलाई गाली गर्नुस्, तर तपाईं काम गर्नुस्,’ उहाँले सरकारलाई आग्रह गर्नुभयो।
उहाँले पछिल्लो समय सुकुम्बासीका करिब तीन हजार घर भत्काइएको, सात–आठ जनाले ज्यान गुमाएको र धेरै नागरिकको बिचल्ली भएको उल्लेख गर्दै राज्यका कामकारबाहीप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो।
सभापति थापाले वर्तमान परिस्थितिमा कांग्रेसले राजनीतिक प्रतिशोध वा सत्ता केन्द्रित गतिविधिभन्दा माथि उठेर नागरिकका समस्या, लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका संवैधानिक संस्थाको संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे।














प्रतिक्रिया दिनुहोस्