काठमाडौं, साउन २५ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयले बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको जनाएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधन आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। साे सडकमा पहिराे खसेकाे कारण अहिले पनि यातायात अवरुद्ध छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
सिन्धुपाल्चोकमा पनि पहिरोका कारण अरनिको राजमार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकु पहिरो र सोही वडाको लिपिङमा सडक भासिएपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।
यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा बिहान ५ बजे पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्