काठमाडौं, साउन २५ । अविरल वर्षासँगै पहिरो र नदी कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो तथा सडक कटानका कारण यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा सोमबार बिहान लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीको इकुमा पहिरो खसेका कारण यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा सोमबार बिहान पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढीको जोखिम रहेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्