काठमाडौँ, साउन २५ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रधानमन्त्री शाहलाई हस्तान्तरण गर्नुभएको हो।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग नेपाल–भारतबीचको मजबुत तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक र फलदायी छलफल भएको बताउनुभएको छ।
उहाँले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्नुभएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास सहकार्य तथा आगामी दिनमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो।
सम्बन्ध सुदृढीकरणमा जोड
भेटवार्तामा दुई देशबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा जोड दिइएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले पहिलोपटक भारतीय राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्नुभएको हो। यसअघि उहाँले विदेशी राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो। पछिल्लो भेटलाई नेपाल–भारत सम्बन्धका विषयमा सरकारको कूटनीतिक सक्रियताको सुरुवातका रूपमा हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्