काठमाडौं, साउन २५। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारका प्राथमिकता जनताका दैनिक समस्याभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको बताउनुभयाे ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सचेतक समेत रहनुभएकीघतानीले प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा सरकारी सञ्चार माध्यमलाई भन्दा निजी सामाजिक सञ्जाललाई प्राथमिकता दिनुभएको भन्दै आपत्ति जनाउनुभयाे । उहाँले फेसबुककाे भ्युजबाट देश नचल्ने स्पष्ट पार्नुभयाे ।
विधिको प्रयोगलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि राज्यका आधिकारिक माध्यमलाई पन्छाएर फेसबुकको पहुँच र भ्युज बढाउनेतर्फ सरकारको ध्यान जानु उचित नभएको उहाँको भनाइ छ । सांसद घतानीले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट नेपालले समेत भारतको सीमा मिचेको आशय व्यक्त गर्नुभएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाउनुभयो। संवेदनशील सीमा विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा त्यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने प्रश्न उहाँले गर्नुभयो।
उहाँले सरकार र सत्ता परिवर्तनशील भए पनि मुलुकको भूगोल तथा सार्वभौमसत्ता स्थायी रहने उल्लेख गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे क्षमायाचना गर्नुपर्ने माग गर्नुभयो।
सांसद घतानीले सरकार नागरिकका आधारभूत समस्याप्रति गम्भीर हुन नसकेको आरोपसमेत लगाउनुभयो। उहाँका अनुसार सहकारीमा बचत गरेका नागरिक आफ्नो रकम फिर्ताको प्रतीक्षामा छन् भने भूमिहीन तथा सुकुम्बासी नागरिक आवासको समस्याबाट गुज्रिरहेका छन्। यस्ता समस्याको समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको उहाँको भनाइ थियो।
किसानले समयमै मल नपाउने र उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्ने अवस्था कायमै रहेको उहाँले बताउनुभयो। उपचार खर्च धान्न नसक्ने नागरिकको समस्या समाधान गर्न स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन नसकेको, बजारमा ग्यासको अभाव देखिएको तथा महँगीले सर्वसाधारणलाई थप मारमा पारेको उहाँले उल्लेख गर्नुभयो। ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ?’ भन्दै उहाँले सरकारको जनजीविकासँग जोडिएका विषयप्रतिको प्राथमिकतामाथि प्रश्न उठाउनुभयो।
राहदानी, सवारी चालक अनुमतिपत्र तथा अस्पतालमा सेवा लिन नागरिकले अझै लामो समय लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुन नसकेको पनि उहाँले बताउनुभयो। सरकारी सेवा सहज, छिटो र नागरिकमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
यसैबीच, पछिल्लो समय सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने विषयमा भइरहेको बहसबारे पनि सांसद घतानीले आफ्नो धारणा राख्नुभएको थियो। उहाँले यस्ता विषयमा बहस भइरहँदा जनताले भोगिरहेका वास्तविक समस्या समाधानलाई भने प्राथमिकतामा राख्नुपर्ने संकेत गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्