जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १३:५६

प्रधानमन्त्रीज्यू कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न : रेनुका काउचा


काठमाडौं, साउन २५ । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीलाई आफू एक्लो भएको महसुस नगर्न आग्रह गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद काउचाले संसद्मा प्रतिपक्षले प्रश्न उठाउनु सरकारमाथिको घेराबन्दी नभएको स्पष्ट पार्नुभयो। उहाँले सरकारसँग प्रश्नको जवाफ माग्नु असहयोग नभएको बताउनुभयो। ‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उहाँले भन्नुभयो। 

प्रतिपक्षले संसद्मा दैनिक प्रश्न उठाउँदा त्यसको जवाफ नदिने प्रधानमन्त्रीले सत्तापक्षकै सांसदहरूले सरकारलाई खबरदारी गर्न खोज्दा सामाजिक सञ्जालमार्फत आफू एक्लो महसुस भएको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो । प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो भन्ने प्रश्न गर्दै सांसद काउचाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू, कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न।’

मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने उहाँले स्पष्ट पार्नुभयो। तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा तथा अभ्यास र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने उहाँको भनाइ थियो।

सांसद काउचाले संसद्मा दैनिक उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको साख कमजोर बनाइरहेको बताउनुभयो। संसद्को अभिलेखमा रहेको विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको छ भन्ने प्रश्नसमेत उहाँले गर्नुभयो। ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन। हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन चाहन्छौँ।’

उहाँले सरकारका राम्रा काममा प्रतिपक्षले सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।