जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १२:३७

करार र ज्यालादारी कर्मचारीले गरे सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ


भक्तपुर, साउन २५ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सीटीईभीटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअन्तर्गत सोमवार देशभरिका करिब २२ सय करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।

उनीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने माग राखेका छन् । उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्।

लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्। आफूहरूको माग सुनुवाई नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि आन्दोलनरत कर्मचारीले दिएका छन ।