जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १५:२४

सत्तारुढ दलकै कार्यकर्ताहरू चरित्रहत्या र भ्रम फैलाउने काममा लागे : ज्ञानेन्द्र शाही


काठमाडौं, साउन २५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफू विरुद्ध सामाजिक सञ्जालमा विभिन्न किसिमका आरोप र भ्रमपूर्ण सामग्री फैलाइएको भन्दै त्यसको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले आफूले मादक पदार्थ सेवन गरेर जथाभाबी बोलेको भन्ने आरोपको खण्डन गर्दै आफ्नो स्वास्थ्य परीक्षण गर्न चुनौती दिनुभएको हो। उहाँले जीवनमा आफूले मादक पदार्थ सेवन गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको बताउँदै त्यस्तो प्रमाण नभए आफू विरुद्ध गलत सूचना तथा सामग्री फैलाउने व्यक्तिमाथि पनि कारबाही हुनुपर्ने माग गर्नुभयो।

त्यस्तै, आफूलाई बदनाम गर्ने उद्देश्यले महिलासँगको तस्बिर र भिडियो जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको दाबी गर्दै उहाँले त्यस विषयमा समेत अनुसन्धान गर्न आग्रह गर्नुभयो। अनुसन्धानबाट आफ्नो कमजोरी प्रमाणित भए कारबाही स्वीकार गर्ने, अन्यथा त्यस्ता सामग्री कसरी र कसको संलग्नतामा फैलाइएका हुन् भन्ने तथ्य बाहिर ल्याउन आफू तयार रहेको उहाँले बताउनुभयो। उहाँले यस्ता काममा सत्तारुढ दलका कार्यकर्ताको नै हात रहेको दाबी गर्नुभयो । 

सांसद शाहीले आफूले दिएका अभिव्यक्तिलाई तोडमोड गरी विभिन्न आरोप लगाइएको गुनासोसमेत गर्नुभयो। आफूले सिंहदरबार जलाउन वा जेल तोड्न जान आह्वान नगरेको, नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति नदिएको तथा मानिसहरूलाई थप मृत्युको अवस्थामा पुर्‍याउने किसिमको अभिव्यक्ति नदिएको उहाँले स्पष्ट पार्नुभयो।

आफूले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने विषय मात्रै उठाएको उहाँको भनाइ थियो।

सरकारलाई निगरानी र खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै नेता शाहीले प्रतिपक्षबिनाको सरकार नुनबिनाको तरकारीजस्तै हुने टिप्पणी गर्नुभयो। उहाँले आफूहरू सरकारको ‘ब्रेक’को भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

बिजुलीमा लगाइएको कर तथा शवमाथि समेत कर लगाउने व्यवस्था हटाउन सरकारलाई आग्रह गर्दै उहाँले जनताले प्रश्न गर्नका लागि आफूहरूलाई संसद्मा पठाएको बताउनुभयो। ‘हामीलाई जनताले प्रश्न गर भनेर पठाउनुभएको हो। हामी प्रश्न गर्छौँ,’ उहाँले भन्नुभयो।