विराटनगर, साउन २५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली कांग्रेसका मन्त्रीहरू राजीनामा रोक्नुभएको छ ।
केन्द्रमा नेकपासँग सत्ता सहकार्यको सहमति भएपनि कांग्रेससँगको सहकार्य तोडेर एमालेलाई दवावमा राख्ने कामतिर लागेको सूचना आएको भन्दै मुख्यमन्त्री कार्कीले राजीनामा रोक्नुभएको हो । नेकपाको शैलीप्रति सुरुदेखि नै सशंकित बनेर कांग्रैससँग् भित्री सहमतिसहित अघि बढनुभएका मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूले दिएको राजीनामा तत्काललाई रोक्नुभएको तथ्य खुलिसकेको छ ।
नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमति अनुसार प्रदेश सरकार गठनको तयारी भएपछि नेपाली कांग्रेसका ४ मन्त्री र १ जना राज्यमन्त्रीले गत शुक्रबार नै राजीनामा पत्र लिएर मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको थियो । तर राजीनामा पत्र लिएर आएका मन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले नेकपासँग मन्त्रालय भागबण्डा लगायतका विषयमा सहमति भई नसकेकोले नदिन भन्नुभएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले मुख्यमन्त्री कार्कीकै आग्रहमा राजीनामा रोकिएको बताउनु भयो ।
एमाले नेताहरूले भने सरकारमा सहभागी हुनका लागि नेकपाले कडा सर्त राखेको कारण केही समय लम्बिएको र कांग्रैस मन्त्रीहरू यथावत रहेको जिकिर गरेको छ ।
यसैबीच सरकार विस्तारको तयारी स्वरूप गएको शुक्रबार पहिलो चरणमा भएको छलफलमा नेकपाले आफ्नो पार्टीलाई हाल सरकारमा रहेको कांग्रेसकै हैसियतमा मन्त्रालय भागबण्डा हुनुपर्ने सर्त राखेको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसले अहिले लिएका मन्त्रालयको सङ्ख्याकै हाराहारीमा आफ्नो पार्टीले पाउनु पर्ने बताउनु भएको हो । हाल प्रदेशमा रहेका मन्त्रालयहरूमध्ये नेपाली कांग्रेसले सम्हालिरहेका भौतिक पूर्वाधार, पर्यटन, कृषि र स्वास्थ्य गरी ४ वटा मन्त्रालयमा नेकपाले दाबी गरेको छ ।
त्यसबाहेक नेकपाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने, बजेटको पुनरावलोकन गर्नुपर्ने, सत्ता साझेदारी सम्मानजनक हुनुपर्ने, भाषा विधेयक र दलित विधेयक लगायतका जनसरोकारका विधेयकहरू पारित गर्नुपर्ने र प्रदेशको नामकरण संशोधन हुनुपर्ने लगायतका विषयमा सहमति हुनुपर्ने बताउँदै आएको छ ।
एमाले भने सरकारको न्यूनतम साझा कार्यक्रम नयाँ बनाउन, बजेट पुनरावलोकन गर्न र सत्ता साझेदारीको विषयमा मन्त्रालयहरू र त्यसपछि राजनीतिक नियुक्तिहरूको सङ्ख्याको विषयमा छलफल गरेर टुङ्ग्याउन सहमत रहेको जनाएको छ । तर दृष्यहरूले दुवै दल आ–आफ्नै खेलमा रहेको संकेत पनि मिलेको छ ।














प्रतिक्रिया दिनुहोस्