काठमाडौं, साउन २५। नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको आपूर्ति, महँगी तथा बजार व्यवस्थापनका विषयमा सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारका कदम चाल्न आग्रह गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा जारी केन्द्रीय कार्यसमितिको बैठकले सरकारका पछिल्ला निर्णय र कार्यशैलीबारे विभिन्न निष्कर्ष निकालेको हो।
कांग्रेसले ग्यासको सिलिन्डरमा ७.१ किलोबाट पुनः १४.२ किलो ग्यास भर्ने निर्णय पर्याप्त तयारी र अध्ययनबिना गरिएको दाबी गरेको छ। सरकारको उक्त निर्णयले बजारमा ग्यासको अभाव झनै बढाएको कांग्रेसको भनाइ छ। “स्टक, आयात हुने परिमाण, आयात गर्न सकिने क्षमता र बजारको आवश्यकताको अध्ययन नगरी हचुवाको भरमा १४.२ केजी भर्न निर्देशन दिनुले सरकारको बचपना उजागर भएको छ,” कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
ग्यास आपूर्ति सहज बनाउन तत्काल कूटनीतिक पहल गरी आयात दोब्बर बनाउनुपर्ने कांग्रेसको माग छ। पर्याप्त भण्डारण सुनिश्चित गर्दै आपूर्ति सञ्जाललाई व्यवस्थित बनाउन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ। “ठोस योजना बिना हठात् १४.२ केजीको सिलिन्डर वितरण गर्ने ‘स्टन्टबाजी’ गर्दा बजारमा ग्यासको हाहाकार अझ बढेको छ,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले ग्यासको विकल्पका रूपमा विद्युत्को प्रयोग बढाउनुपर्ने नीतिविपरीत सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा कर थपेको भन्दै आपत्ति जनाएको छ। विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन तथा इन्डक्सन चुलोलगायत विद्युतीय उपकरणमा पुनः सहुलियत दिन कांग्रेसले माग गरेको छ। “ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त करहरू तत्काल हटाउन,” कांग्रेसले सरकारसँग माग गरेको छ।
कृषि तथा मल आपूर्तिको विषयमा पनि कांग्रेसले सरकारको आलोचना गरेको छ। मुख्य बाली लगाउने समयमा किसानले सहज रूपमा रासायनिक मल पाउन नसकेको, कालोबजारी र बिचौलियाको प्रभाव बढेको तथा किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाएको कांग्रेसको भनाइ छ। “मुख्य सिजनमा रासायनिक मल नपाउँदा किसानहरू अनौपचारिक बजारमा भौतारिन बाध्य छन्,” कांग्रेसले जनाएको छ।
मलको खोजीमा सीमावर्ती भारतीय बजारसम्म पुगेका नेपाली किसानले समस्या भोग्नुपरेको उल्लेख गर्दै कांग्रेसले किसानलाई समयमै अनुदानको मल उपलब्ध गराउन, कालोबजारी तथा बिचौलियाको अन्त्य गर्न र किसानका उत्पादनले उचित बजार तथा समर्थित मूल्य पाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महँगी र सुशासनका विषयमा कांग्रेसले सरकार जनजीविकाका वास्तविक समस्या समाधान गर्नुभन्दा प्रचारबाजी र सस्तो लोकप्रियतामा केन्द्रित भएको आरोप लगाएको छ। “वर्तमान सरकार जनजीविकाका वास्तविक समस्या समाधान छाडेर केवल सस्तो लोकप्रियता र प्रचारबाजीमा अल्झिएको छ,” विज्ञप्तिमा भनिएको छ।
ग्यासको अभाव, विद्युत्मा कर वृद्धि तथा कमजोर आपूर्ति व्यवस्थापनका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै कांग्रेसले बजारमा अनियन्त्रित मूल्यवृद्धि रोक्न र बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेको छ। “आम नागरिक, किसान, मजदुर तथा भुइँमान्छेको जीविकोपार्जन सहज बनाउने गरी ठोस राहतका कार्यक्रम ल्याउन,” कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
बैठकमा आज २२ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। छलफल भने जारी रहेको कांग्रेसले जनाएको छ।
बैठकमा केन्द्रीय सदस्यहरू राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह केसी, तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर विक, दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट तथा केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले धारणा व्यक्त गर्नुभएको थियो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २६ गते मंगलबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्