म्याग्दी, साउन २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिँदा अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय कामदार दीपक बरुवाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
पहिरोमा परी गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। विकलाई प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।
बेपत्ता बरुवालको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ।
पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाबाट विद्युत् उत्पादनसमेत बन्द भएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्