जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०८:०७

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने


काठमाडौं, साउन २६। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

सम्भावित कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुनेछ।

यसैबीच, आज दुई वटा संसदीय समितिको बैठकसमेत बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका क्रममा जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गरिनेछ।