जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०९:५०

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ


काठमाडौँ, साउन २६ प्रहरीले पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकल खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला डुमरा थानाका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ४ हजार ५ थान, पाँच सय रुपैयाँ दरका २ हजार ३ सय ५३ थान, एक सय रुपैयाँ दरका ६ सय ४३ थान र ५० रुपैयाँ दरका ८४ थान नोट बरामद गरेको जनाएको छ ।

बरामद रकमको स्रोत तथा घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।