जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १३:५४

प्रधानमन्त्रीले बालहठ गरेर हुँदैन, केटाकेटीपनले देश चल्दैन : हर्कराज राई


काठमाडौं, साउन २६ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभामा साे पर्टीका संसदीय दलका नेता हर्कराज राईले सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताउँदै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै राईले देशको वर्तमान अवस्थाप्रति प्रश्न उठाउँदै नागरिक र सांसदसमेत सुरक्षित नरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वयंले छिमेकीले नेपालको सीमा मिचेको स्वीकार गर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो। “हामी यस्तो देशमा छौँ- जुन देशको प्रधानमन्त्री हामीले छिमेकीको सीमा मिचेका छौँ भन्छ,” उहाँले भन्नुभयो।

राईले लोकतन्त्रमा नैतिकता नै वैधता र वैधानिकताको आधार भएको बताउँदै राजनीतिक नेतृत्वले नैतिकता गुमाए जनताले विश्वास नगर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री संसदमा उपस्थित नहुने विषयप्रति आपत्ति जनाउँदै उहाँले बालहठ र केटाकेटीपनले देश सञ्चालन हुन नसक्ने बताउनुभयो। प्रधानमन्त्री संसदमा आएर सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उहाँको भनाइ थियो। “प्रधानमन्त्रीले बालहठ गरेर संसदमा नआए हुँदैन, केटाकेटीपनले देश चल्दैन, संसदमा आउनु पर्छ, सांसदले उठाएको प्रश्नको जवाफ दिनु पर्छ,” राईले भन्नुभयो।

“हामी यस्तो देशमा छौँ- जुन देशको प्रधानमन्त्री हामीले छिमेकीको सीमा मिचेका छौँ भन्छ,”

उहाँले सरकार र नेतृत्वले नागरिकका वास्तविक समस्या बुझ्न गाउँ र सडकमा पुग्नुपर्ने बताउनुभयो। एसीमा बसेर मात्रै देशको वास्तविक अवस्था बुझ्न नसकिने भन्दै उहाँले दैनिक जीवनयापनका लागि नागरिकले भोगिरहेका समस्याप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो।“एसीमा बसेर देश भेटिँदैन, गाउँ र सडकमा गएपछि मात्र समस्या देखिन्छ,” उहाँले भन्नुभयो।

राईले ग्यासका लागि दिनभरि लाइनमा बस्नुपर्ने अवस्थाले नागरिकले भोगिरहेको कठिनाइ देखाउने भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो। उहाँले देशका समस्याको मूल कारण सरकारको गैरजिम्मेवारी रहेको बताउनुभयाे । 

सरकारसँग आश्वासनभन्दा परिणाममुखी कामको अपेक्षा रहेको बताउँदै राईले टालटुले ढंगले देश सञ्चालन गर्न नसकिने धारणा राख्नुभयो। देशमा थुप्रै समस्या रहेको र ती समाधान गर्न सरकारसँग पर्याप्त समय नरहेको उहाँको भनाइ थियो। “हामी आश्वासन होइन, एक्सन चाहन्छौँ, टालटुले पाराले देश चल्दैन, देशमा थुप्रै समस्या छन्, समय छैन हामीसँग धेरै,” उहाँले भन्नुभयो।

सरकार कमजोर हुँदा देशमा असुरक्षा बढेको दाबी गर्दै राईले नागरिकले स्वतन्त्र रूपमा देशभित्रै हिँडडुल गर्न सक्ने वातावरणसमेत कमजोर बन्दै गएको बताउनुभयो। उहाँले नागरिकको सुरक्षा र सरकारको जवाफदेहितालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।