जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १४:१२

प्रधानमन्त्रीले दिल्ली रिझाउन विवादास्पद अभिव्यक्ति दिए, संसदकाे रेकर्डबाट हटाइयाेस्


काठमाडौं, साउन २६। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको अभिव्यक्ति सच्याउन पहल गर्न सभामुख डीपी अर्यालसँग आग्रह गर्नुभएको छ।

प्रतिनिधि सभाको आजकाे बैठकमा बोल्दै सांसद मण्डलले प्रधानमन्त्री साहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन सभामुखले पहल गर्नुपर्ने बताउनुभयो।

उहाँले सभामुख अर्याललाई प्रधानमन्त्रीसँग संवाद गरेर अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभयो। “तपाईँ जस्तो शालीन, अनुभवी, योग्य व्यक्तित्व हामीले पाएका छौँ, हामीलाई गर्व छ, तपाईँले पनि प्रधानमन्त्रीजीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गरिदिनुस्,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री साह जिद्दी स्वभावको भएकाले आफैँ रोस्ट्रममा आएर अभिव्यक्ति फिर्ता लिने सम्भावना कम रहेको उहाँको टिप्पणी थियो। त्यसैले सभामुखले नै पहल गरेर उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने उहाँले बताउनुभयो।

सांसद मण्डलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति भारत भ्रमणअघि दिल्लीलाई खुसी पार्ने उद्देश्यले आएको समेत बताउनुभयाे।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई पनि संसद्मा विषयको पक्ष र विपक्ष छुट्याएर मात्रै ‘ढ्यापढ्याप’ गर्न आग्रह गर्नुभयो। “जनताले तपाईँलाई बहुमत प्रदान गरेको छ, संसद्को बैठकमा ठिक वा बेठीक छुट्टाउने प्रयास गर्नुस्, सबैमा ढ्यापढ्याप नगर्नुस्, यो क्रियाकलापले आगामी दिनमा तपाईँहरूलाई पनि भलो हुँदैन,” उहाँले भन्नुभयो।

सांसद मण्डलले सुनसरीमा भएको घटनाले सिंगो मधेसलाई आतंकित र भयभीत बनाएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सुनसरी र सिरहामा गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गर्दै गोली कसले चलायो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो। “सरकारले गोली चलाएको होइन भने कसले चलायो, छानबिन गरी कारबाही होस्, प्रहरीले गोली चलाएको हो भने अहिलेसम्म कसले चलाएको हो भन्ने कुरा सार्वजनिक भएको छैन,” उहाँले भन्नुभयो।

मधेसमा भएको घटनाका क्रममा चार जनाको ज्यान गएको र करोडौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको उहाँले उल्लेख गर्नुभयो।

कृषि क्षेत्रमा मलको अभावप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। कृषि मन्त्रीले मल पर्याप्त रहेको बताइरहे पनि धानमा मल हाल्ने समयमा किसानले मल नपाएको उहाँको भनाइ थियो।

सांसद मण्डलले प्रधानमन्त्री साहले दुईतिहाइ बहुमतको नेतृत्व गरे पनि पदको गरिमा जोगाउन नसकेको आरोप लगाउनुभयो। उहाँले संसद्को गरिमा जोगाउनेतर्फ पनि प्रधानमन्त्री गम्भीर नभएको टिप्पणी गर्नुभयो।

प्रधानमन्त्री साह संसद्मा कालो टी–सर्ट, कालो कोट र कालो चस्मामा उपस्थित हुने गरेको उल्लेख गर्दै मण्डलले त्यसले संसद्को गरिमामाथि प्रश्न उठाएको बताउनुभयो। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिनुभएको विषयलाई समेत उहाँले आलोचना गर्नुभयो। “सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दा उहाँ बाहिरिनुभयो, यसको अर्थ उहाँले यो सरकारको नीति कार्यक्रम र बजेटलाई स्वीकार गर्नुभएको छैन,” उहाँले भन्नुभयो।

मण्डलले सभामुखलाई पुनः प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दै संसद्को गरिमा र मर्यादा कायम राख्न भूमिका खेल्न अनुरोध गर्नुभयो।