काठमाडौं, साउन २६। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँ एक्लै हिँड्ने लहडमा हुनुहुन्छ कि एक्लै पर्नुभएको हो भन्ने प्रश्न गर्नुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले संसद् प्रधानमन्त्रीको साथमा रहे पनि प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्नुभएकाे बताउनुभयो। उहाँले आफ्नो जवाफदेहिता ऐच्छिक नठानी संवैधानिक कर्तव्य पालना गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। “प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? संसद् तपाईँको साथमा छ, तर तपाईँ संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानिकन संवैधानिक कर्तव्य पालना गर्नुस्,” केसीले भन्नुभयो।
उहाँले पछिल्लो समय संवैधानिक संस्थाहरू कार्यपालिकाका ‘लाचार छायाँ’ बन्न थालेको बतानुभयो। सरकारका कतिपय राम्रा प्रयास पनि हचुवा र विधिविहीन प्रक्रियाबाट अघि बढेको भन्दै उहाँले लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।
केसीले सरकार गठन भएको एक महिना नबित्दै युवालाई स्वदेश फर्काउने प्रतिबद्धता गरेको भए पनि त्यसको कार्यान्वयन कहाँ पुग्यो भन्ने प्रश्न गर्नुभयो। उहाँले सरकारका प्रतिबद्धता र जनताले भोगिरहेको दैनिक समस्याबीच ठूलो अन्तर रहेको बताउनुभयो।
“प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? संसद् तपाईँको साथमा छ, तर तपाईँ संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानिकन संवैधानिक कर्तव्य पालना गर्नुस्,”
उहाँले किसानले मलको हाहाकार व्यहोर्नुपरेको, बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको र जनता महँगीको मारमा परेको बताउनुभयो। त्यस्तै, विद्युत्को टुंगो नलागेको, राहदानी लिन अझै लामो लाइन बस्नुपर्ने अवस्था रहेको, सुकुम्बासीको समस्या समाधान नभएको तथा बेरोजगारी बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।
सरकारले जनताका तत्कालीन समस्या समाधान गर्नुभन्दा प्रतिबद्धता र प्रचारमा सीमित हुन नहुने भन्दै केसीले जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा तत्काल प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।














प्रतिक्रिया दिनुहोस्