काठमाडौं, साउन २६। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साह संसद् र जनताबाट टाढिँदै गएको बताउँदै गुप्तवासमा नबस्न आग्रह गर्नुभएको छ। उहाँले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताउँदै संसद्बाट उठेका विषयमा जवाफदेही बन्न आग्रह गर्नुभएको हो।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्ले मागेको सीमा सम्बन्धी अभिव्यक्तिको जवाफ नदिएको र विवादास्पद अभिव्यक्ति अहिलेसम्म संसद्को अभिलेखबाट समेत नहटाइएको बताउनुभयो। प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने संवैधानिक अभ्यास प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले प्रधानमन्त्री गुप्तवासमा रहेको भन्दै देशमा ग्यासको अभाव हुँदा नागरिकको भान्सामा परेको समस्यासमेत सरकारलाई थाहा नभएको हो कि भन्ने प्रश्न गर्नुभयो। नागरिकको भान्सा सहज बनाउन प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई केले रोकेको छ भन्ने प्रश्नसमेत उहाँले गर्नुभयो।
सुनसरी घटनालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाउँदै शर्माले सरकारले सुनियोजित रूपमा बल प्रयोग गरेको दाबी गर्नुभयो। उहाँले घटनालाई साम्प्रदायिक दंगाका रूपमा प्रचार गरिएको र अन्ततः आफ्नै मान्छेहरू सहभागी गराएर वार्ताको नाटक गरी समस्या समाधान गरिएको जस्तो देखिएको आरोप लगाउनुभयो।
शर्माले नेपाली सेनाको परिचालनप्रति पनि सरकारसँग प्रश्न गर्नुभयो। संवैधानिक व्यवस्थाअनुसार सेनाको निश्चित जिम्मेवारी रहे पनि सुकुम्बासी बस्ती र सडकमा बन्दुक बोकेर सेना परिचालन गरिएको भन्दै उहाँले यसले नेपाली सेनाको मर्यादा घटाएको बताउनुभयो। “नेपाली सेनालाई यति सस्तो र सहज रूपमा के संवैधानिक व्यवस्थाको आधारमा परिचालन गरिन्छ ? कहिले सुकुम्बासी बस्तीमा दौडाइराखिएको छ, कहिले सुनसरीका सडकमा बन्दुक बोकेर गस्ती गराइराखिएको छ,” शर्माले भन्नुभयो।
उहाँले प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा सांसदहरू उहाँको साथमा रहेको र सिंगो संसद्ले प्रधानमन्त्रीलाई काम गर्न सहयोग गर्ने बताउनुभयो। तर प्रधानमन्त्री नै संसद्बाट टाढिएर गुप्तवासमा बस्दा उहाँ एक्लिनुभएको उहाँको टिप्पणी थियो। “तपाईँ संसद्मा आउनुहुन्छ भने सांसदहरू तपाईँको साथमा हुन्छन्, सिंगो संसद् तपाईँको पक्षमा हुन्छ। गुप्तवासमा नबस्नुस्,” उहाँले भन्नुभयो।
प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउने दल र संसद्सँगै दूरी बढाउँदै गएको आरोप लगाउँदै शर्माले देश र जनताको विपक्षमा कदम चाल्दै गए प्रधानमन्त्री झन् एक्लिँदै जाने चेतावनी दिनुभयो। उहाँले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउन सभामुखमार्फत रुलिङ गर्नसमेत माग गर्नुभयो।
शर्माले सरकार जनताका दैनिक समस्याबाट विमुख हुन नहुने बताउँदै ग्यास अभाव, सुरक्षा व्यवस्थापन, सुनसरी घटनाको छानबिन तथा सेनाको मर्यादा कायम राख्ने विषयमा तत्काल स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्