काठमाडौं, साउन २६। सत्तारुढ दलकी सांसद आशिका तामाङले सरकारले ग्यास पर्याप्त रहेको दाबी गरिरहँदा बजारमा देखिएको अभावप्रति व्यङ्ग्य गर्दै प्रतिनिधि सभा बैठकमै कविता सुनाउनुभएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उहाँले ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको सास्ती र पहुँचवालाले सहजै ग्यास पाउने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै व्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभएको हो।
उहाँले बजारमा ग्यास नपाउँदा सर्वसाधारण खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारको ‘ग्यास पुग्नेछ’ भन्ने दाबी र नागरिकले भोगिरहेको वास्तविकताबीचको अन्तर कवितामार्फत देखाउनुभएको थियो । तामाङले ग्यासको अभावलाई नागरिकको दैनिक जीवन र भान्सासँग जोड्दै ‘ग्यास, ग्यास, ग्यास, भएन भने रोकिन्छ खाने गाँस’ भन्दै कविता सुरु गर्नुभएको थियो।
उहाँले पहुँच हुने व्यक्तिहरूले छानीछानी तीन वटासम्म सिलिन्डर लैजाने गरेको तर सर्वसाधारणले एउटा सिलिन्डरका लागि समेत सास्ती खेप्नुपरेको अवस्थाप्रति व्यङ्ग्य गर्नुभयो। थानकोटबाट खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने नागरिकको बाध्यता उल्लेख गर्दै उहाँले ग्यासको अभावले सर्वसाधारणमा भोक, प्यास र निराशा बढाएको बताउनुभयो।
कवितामार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउँदै ग्यास आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्ने सन्देश दिनुभएको थियो।
उहाँको कविता यस्तो थियो :
**“ग्यास, ग्यास, ग्यास
भएन भने रोकिन्छ खाने गाँस
हातमा छ क्यास
तर, बजारमा छैन ग्यास
पहुँच हुनेवालाहरूले लान्छन्
छानीछानी भरि सिलिन्डर तीन वटासम्म ग्यास
अनि हुँदैन त छिमेकीको घरमा
हाहाकार, भोक र प्यास !
सरकार भन्छ– पुग्नेछ ग्यास
जनताहरू रात–दिन सडकमा छन्
बोकी सिलिन्डर बोकी उठीबास
थानकोटको मान्छे
खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु
यीनका मनको पीडा म कहाँ गइ पोखुँ
लाग्दछ, मलाई रमाइलो
मेरै पाखा पखेरो
हिमाल फेदी मुन्तिर
कहिले बन्छ ग्यास भर्ने पँधेरो ।”**














प्रतिक्रिया दिनुहोस्