काठमाडौं, साउन २६ । जापान पठाइदिने बहानामा ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रतीक बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीलाई साउन २५ गते रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ११५ जना पीडितबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएर ठगी गरेको विभागको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगार ऐनअनुसार ठगी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्