जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १६:४८

रौतहटमा लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता


रौतहट, साउन २६। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका मंगलबार दिउँसोदेखि बेपत्ता भएका छन् । 

दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा डुबेर तीनै जना बेपत्ता भएको खबर पाएलगत्तै सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। तर, समाचार तयार पार्दासम्म बालबालिकाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् । 

घटनापछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ।

सामान्य खोजीबाट बालबालिका फेला नपरेपछि उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरीकाे डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलतर्फ पठाइएको छ। 

लालबकैया नदीमा पानीको बहाव तीव्र र गहिराइ बढी रहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता तीनै बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।