जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १७:२४

शहीद घोषणादेखि नियुक्ति र भ्याट छुटसम्मका यस्ता छन मन्त्रिपरिषदका निर्णय (सूचीसहित)


काठमाडौं, साउन २६ । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रदर्शनका क्रममा मृत्यु भएका चारै जनालाई शहीद घोषणा गरिएको जानकारी दिनुभयो।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा सिराहामा भएको प्रदर्शनका क्रममा थप एक जनाको मृत्यु भएको थियो।

मन्त्रिपरिषद्ले हिंसात्मक घटनाका क्रममा मृत्यु भएका चारै जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

यसैगरी सरकारले विद्युतबाट सञ्चालित एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णय

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने।

२. सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव गरी चार जनालाई शहीद घोषणा गर्ने।

३. पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने।

५. पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।