काठमाडौं, साउन २६। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले देवानगञ्ज–कप्तानगञ्ज घटनापछिको तनावपूर्ण परिस्थितिलाई राष्ट्रमा आइपरेको संकटका रूपमा लिँदै शान्ति र सद्भाव कायम गर्ने विषय सबैको साझा दायित्व भएको जनाएको छ।
कांग्रेसले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय तथा सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरेको स्मरण गराउँदै सरकारी संयन्त्र मात्रै संलग्न रहेको आयोगले सरकारका कमजोरी ढाकछोप गर्न सक्ने आशंका आफूहरूले त्यतिबेला नै व्यक्त गरेको जनाएको छ। उक्त आशंका अहिले सही साबित भएको कांग्रेसको दाबी छ।
घटनाको निष्पक्ष छानबिनका लागि आयोग गठन तथा सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको कांग्रेसले जनाएको छ। यादवको स्वास्थ्य अवस्था थप जटिल बन्न नदिन तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न कांग्रेसले जोडदार माग गरेको छ।
कांग्रेसका अनुसार देवानगञ्ज–कप्तानगञ्जलगायतका क्षेत्रमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै निजी सम्पत्तिमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको छ। पीडितलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य सहमति कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ।
सरकारको गैरजिम्मेवार व्यवहारका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को अप्रिय घटना हुन सक्ने खतरा बढेको भन्दै कांग्रेसले सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
यसैबीच कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याजपीडितलगायत विभिन्न पेसा, व्यवसाय तथा संघसंस्थासँग सरकारले गरेका दर्जनौँ सहमति कार्यान्वयन नभएको जनाएको छ।
सरकारले नागरिक तथा पेसागत संघसंस्थासँग गरेका सहमति र समझदारीलाई तत्कालका लागि आफू उम्किने माध्यमका रूपमा मात्रै प्रयोग नगर्न कांग्रेसले आग्रह गरेको छ। विभिन्न पक्षसँग भएका सहमति र समझदारी तत्काल कार्यान्वयन गरी सम्बन्धित नागरिकलाई राहत र न्याय दिनुपर्ने कांग्रेसको माग छ।
पटक–पटक सहमति गर्ने तर त्यसको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने सरकारी प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको कांग्रेसको निष्कर्ष छ। यस्तो अवस्थाले समाजमा निराशा बढाउँदै ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास कमजोर बनाउँदै गएको भन्दै कांग्रेसले सरकारलाई गम्भीर र संवेदनशील भएर परिस्थितिको समीक्षा गर्न आग्रह गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्